जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा टिप्न र बेच्न भ्याइनभ्याइ छ । केही दिनयता प्रेमको दिनचर्या बदलिएको छ । उनी हिजोआज बिहानै ताउमा सिंगाडा टिप्न पुग्ने र दिनभर बिक्री वितरण गर्ने कार्यमा व्यस्त छन् ।
परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएर कश्यपले एकै सिजनमा करिब चार लाख आम्दानी गर्दै उदाहरणीय किसानको पहिचानसमेत बनाएका छन् । वार्षिक रु २० हजार तिर्ने गरी गाउँपालिकासँग १५ कट्ठाभन्दा बढी क्षेत्रफलको तलाउ भाडामा लिएर कश्यपले वर्षौंदेखि सिंगाडाखेती गर्दै आएका छन् ।
अन्य अन्नबालीको तुलनामा कम लगानी र थोरै मिहिनेतमा राम्रो प्रतिफल पाइने भएकाले यस पेसाप्रति आकर्षित भएको प्रेमले बताए । 'अहिले सिंगाडाको सिजन हो, सिजनभर ६० क्विन्टलभन्दा बढी सिंगाडा बिक्री गर्छु,' कश्यपले भने, 'प्रतिक्विन्टल रु छ हजारका दरले गाउँबाटै बिक्री भइरहेको छ, व्यापारीहरू खोज्दै गाउँमै आउने भएकाले बजारको कुनै चिन्ता छैन ।'
कश्यपका लागि सिंगाडाखेती केवल व्यवसाय मात्र होइन, पुख्र्यौली विरासत पनि हो । बाउबाजेका पालादेखि चल्दै आएको यही पेशाले उनको आठ जनाको परिवारको जीविकोपार्जन धानेको छ । सिजन सुरु भएसँगै कश्यप परिवारलाई बिहानदेखि साँझसम्म तलाउबाट सिंगाडा टिप्न, सफा गर्न र तौलेर व्यापारीलाई बुझाउन भ्याइनभ्याइ हुन्छ ।
माग अत्यधिक भएका बेला उनले चार–पाँच जना ज्यालादारी मजदुरसमेत लगाएर सिंगाडा टिप्ने गरेका छन् । असार महिनामा तलाउको पानीमा बीउ रोपेपछि कात्तिक र मङ्सिर महिनामा सिंगाडा टिप्न तयार हुन्छ । एकपटक रोपेपछि सिजनभर तीन पटकसम्म फल टिप्न मिल्ने कश्यपको अनुभव छ ।
'सिंगाडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ, कात्तिक–मङ्सिर महिनामा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन,' कश्यपले भने, 'रोपेपछि दुई/तीन पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ ।'
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार