Listen LIVE

बाँकेमा कार्यरत दुई ट्राफिक प्रहरी जवान निलम्बित

नेपालगञ्ज : सेवाग्राहीसँग आचरण विपरीत आर्थिक लाभ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन् । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले उनीहरूलाई निलम्बन गरी थप अनुसन्धान सुरु गरेको हो ।

निलम्बनमा पर्नेहरूमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहतको अस्थायी ट्राफिक प्रहरी पोष्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीषराम थारु र अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जमा कार्यरत प्रहरी जवान टोप बहादुर खड्का रहेका छन् ।

उनीहरूले ट्राफिक प्रहरीको पोशाकमै ड्युटीमा खटिएको अवस्थामा सेवाग्राहीसँग रकम असुलिरहेको भिडियो मंसिर १० गते फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो सार्वजनिक भएपछि कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

घटनामा संलग्न दुवै जना प्रहरी कर्मचारीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम मंसिर ११ गतेदेखि नै लागू हुने गरी निलम्बन गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए। निलम्बित दुवै जनामाथि थप छानबिन तथा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया