Listen LIVE

हुम्लामा कोदोको बिस्कुट उत्पादन शुरु

हुम्ला : स्थानीय रैथाने बाली कोदोको बिस्कुट उत्पादन सुरु गरिएको छ । खार्पुनाथ गाउँपालिकाको कृषक समुहले बिस्कुट उत्पादन सुरु गरेका हुन् ।

महिला कृषि समूहकी सदस्य बास्मति शाहीले कोदो बालीको प्रर्बद्धन गर्न बिस्कुट उत्पादन सुरु गरिएको बताईन् । यसअघि गाउँपालिकाको कृषि शाखाले रैथाने बालीको परिकार तयारी सम्वन्धि तालिम प्रदान गरेको थियो । उ तालिममा दश भन्दा बढी परिकार तयार गर्न सिकेको भए पनि पहिलो पटक बिस्कुट उत्पादन समूह मिलेर सुरु गरिएको हो ।

कम लागत र स्थानीय साधन र श्रोतको परिचालन र प्रयोग गरेर बिस्कुत उत्पादन गरिएको उहाँले बताउनुभयो । पाँच प्रकारको बिस्कुट उत्पादन गरेर बिक्रीका लागि तयार पारिएको छ । समुहको आफ्नै लगानीमा बिस्कुत उत्पादन सुरु गरिएको र अब बजार हेरेर यसको उत्पादन परिमाण बृद्धि गर्ने तयारीमा समुह रहेको छ ।

यसका लागि दुई जना तालिम लिनु भएका समुहकी सदस्यलाई परिचालन गरिएको छ । यो तालिम उक्त समुहकी दश जना महिलाले लिनु भएको थियो । गाउँपालिका कृषि शाखाका प्रमुख हर्कबिर रावलले तालिममा सिकेको कुरा महिला समुहले प्रयोगमा ल्याएको बताए ।

महिला समुहले उत्पादन गरेको बिस्कुट गाउँपालिकामा सञ्चालन हुने कार्यक्रमका लागि खरिद गरिने तयारीमा शाखा रहेको छ । यसका लागि समुहको काम हरेर अनुदान सहयोगको ब्यवस्था पनि गाउँपालिकाले गर्नेछ । हाललाई प्रति पिस पाँच रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

प्रतिक्रिया