Listen LIVE

जनयुद्धका सहयात्री शाही र बुढा आमने सामने

कालीकोट : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कालीकोटको निर्वाचन क्षेत्र नं १ मा युद्धका सहयात्री आमनेसामने भएका छन् । दस वर्षे युद्धमा सैन्य कमाण्ड समालेका दुई सहयात्री महेन्द्रबहादुर शाही र जीवन बुढा चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कम्युनिष्ट पार्टीले पूर्व मुख्यमन्त्री शाहीलाई टिकट दिएपछि बुढाले बागी उम्मेदवारी दिएका हुन् ।

तत्कालीन माओवादी सेनाका सातौं डिभिजन कमाण्डर शाही हुन् भने सहकमाण्डर बुढा हुन् । तत्कालीन राज्यसत्ताविरुद्ध सँगै युद्ध मोर्चा सम्हालेका शाही र बुढा संसदीय लडाइँमा भने मिल्न सकेनन् ।

जिल्लाका नेता कार्यकर्ताको साथ पाएका बुढाले तीन पटकसम्म आफ्नो कमाण्डरका लागि मैदान आफूले छोडे पनि उनले एक पटक अरु सहयात्रीका लागि मैदान नछोडेका कारणले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

उता महेन्द्र पक्षीय नेताले तीन पटकसम्म चुनाव जितेका हुनाले महेन्द्र शाही नै जित्ने उम्मेदवार भएकाले अगाडि सारेको दाबी गरेका छन् । कालीकोट तत्कालीन माओवादीको पकट भएपनि शाही २०७४ मा नेकपा एमाले र २०७९ मा नेपाली कांग्रेसको साथ पाएर विजयी भएका थिए । सामानुपातिक मतको विश्लेषण गर्दा नेकपाको १२ हजार नेकपा एमालेको १० हजार र नेपाली कांग्रेसको नौ हजार मत हो । यहाँ नेकपाबाट बुढा बागि उम्मेदवार बन्नुभएपछि मत विभाजन हुने र त्यसको फाइदा एक मात्र उम्मेदवार बनेका पार्टीलाई पुग्ने अनुमान गरिएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा नेकपा एमालेका नेता नगिन्द्र शाही नेश्नल, नेपाली कांग्रेसका पूर्व सभापति हर्ष बम, नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपाने, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट धर्मराज न्यौपाने, राष्ट्रिय जनमोर्चाबाट अजबहादुर गिरी, नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाही, राप्रपाबाट सूर्यबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् । दुई जना स्वतन्त्रले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया