Listen LIVE

बर्दियामा कुपोषण भयावह बन्दै

बर्दिया : धान उत्पादनका लागि परिचित बर्दिया जिल्लामा पाँच वर्षमुनिका १४.३२ प्रतिशत बालबालिका कुपोषित रहेका पाइएको छ । जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन हुने भए पनि बालबालिकाको खानपान र स्याहारमा पर्याप्त ध्यान नदिँदा कुपोषणको अवस्था कायमै रहेको हो ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख उमेश गौतमले जिल्लाको कुपोषणको अवस्था चिन्ताजनक रहेको बताए । उनले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पाँच वर्षमुनिका बालबालिकामा १० देखि १५ प्रतिशतसम्म कुपोषण देखिनुलाई गम्भीर अवस्था मानिने बताए । उनले भने, 'हाम्रो जिल्लामा कुपोषणको दर १४ प्रतिशतभन्दा माथि छ । त्यसैले कुपोषण घटाउन तत्काल फरक ढङ्गले योजना बनाएर कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।' 

बर्दिया अस्पतालका बालरोग विशेषज्ञ डा. विश्वनाथ शाहका अनुसार कुपोषित आमाबाट जन्मिएका बालबालिकामा पनि कुपोषणको जोखिम बढी हुने गरेको छ । उनले कतिपय बालबालिका आवश्यक पोसिलो खाना नपाउँदा कुपोषित हुने गरेका बताए ।

स्वास्थ्य कार्यालय बर्दियाका अनुसार गत आव २०८२/८३ मा पाँच वर्षमुनिका २० हजार ९८५ बालबालिकाको पोषण अवस्था परीक्षण गर्दा तीन हजार २६ जना अर्थात् १४.३२ प्रतिशतमा कुपोषण देखिएको हो । तीमध्ये ४१९ जनामा कडा र दुई हजार ६०७ जनामा मध्यम खालको कुपोषण पाइएको छ । 

स्वास्थ्य कार्यालय बर्दियाकी सूचना अधिकारी पद्माकुमारी श्रेष्ठले परीक्षण गरिएका बालबालिकामध्ये १७ हजार ९५९ जनाको पोषण अवस्था सामान्य रहेको बताइन् । उनका अनुसार उमेर अनुसार तौल र उचाइ मापन गरी कुपोषित बालबालिकाको पहिचान गरिएको हो ।

स्थानीय तह अनुसार गुलरिया नगरपालिकामा कुपोषित बालबालिकाको दर सबैभन्दा बढी १८.१ प्रतिशत छ । ठाकुरबाबा नगरपालिकामा १५.९५, मधुवन नगरपालिकामा १५.४, बारबर्दिया नगरपालिकामा १४.४६ र राजापुर नगरपालिकामा १४.१२ प्रतिशत बालबालिका कुपोषित पाइएको छ । त्यसै गरी बढैयाताल गाउँपालिकामा १२.६, बाँसगढी नगरपालिकामा ११.२४ र गेरुवा गाउँपालिकामा ११.२९ प्रतिशत बालबालिकामा कुपोषण देखिएको छ ।

कुपोषणको अवस्था अघिल्ला वर्षमा पनि उल्लेख्य रहेको तथ्याङ्कले देखाएको छ । आव २०८१/८२ मा ४२९ जना र आव २०८०/०८१ मा २८२ जना बालबालिकामा कडा खालको कुपोषण देखिएको थियो । 

मध्यम खालको कुपोषण भएका बालबालिकालाई सर्वोत्तम पिठो तथा कडा कुपोषण भएका बालबालिकालाई तत्काल प्रयोग गर्न सकिने उपचारात्मक खाद्य पदार्थ खुवाएर उपचार गर्ने गरिएको छ । जटिलता देखिएका बालबालिकालाई भने स्वास्थ्य संस्थामा पठाउने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया