हुम्ला : हिल्सा नाकाबाट चीनको पुराङ काउण्टीको ताक्लाकोटबाट सामान आयातमा चीनले कडाइ गरेको छ । सामान नेपाल आयात गर्दा अनिवार्य कन्टेनर प्रयोग गर्नुपर्ने नियम लागु गरेपछि सीमित सामान मात्र हिल्सा नाकामा आउने गरेको हो ।
सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकीका सशस्त्र प्रहरी निरीक्षक प्रमोद बिष्टले हाल ताक्लाकोटबाट आयात हुने सामानको परिमाण निक्कै घटेको बताए । उनले केही समययता चिनियाँ पक्षले ताक्लाकोटबाट सामान नेपाल लिनका लागि कन्टेनरमा प्याकिङ गर्नुपर्ने र त्यसो गर्दा धेरै परिमाणमा सामान लिनुपर्ने भएपछि व्यापारीहरुलाई सामान आयात गर्न कठिन भएको बताए ।
ताक्लाकोटबाट ब्यक्तिले आफूसँग सामान ल्याउन परे एक बोरा मात्र ल्याउन दिने गरेको छ । उनले व्यापारीले पनि कन्टेनर रिजर्भ गरेर सामान आयात गर्न सक्ने अवस्था नभएपछि सामान आयातमा कठिनाइ भएको बताए । यसरी सामान आयात गर्नुपर्ने भएपनि व्यापारी तथा निर्माण व्यवसायीहरु प्नि हिल्सा छोड्न थालेको उनले बताए । यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीले ताक्लाकोटबाट सामान कम आउन थालेपछि भन्सार शुल्क पनि निक्कै घटेको बताए ।
पटकपटक परिवर्तन भइरहने चिनीयाँ नियमको कारण नेपाली व्यापारी र सर्वसाधारणहरुलाई ताक्लाकोट गएर व्यापार गर्न समेत कठिन हुन थालेको उनले बताए । यसले गर्दा हिल्सामा व्यापारीहरु बस्न छोडेको उनले बताए । यसअघि आवश्यकताका आधारमा साउन आयात हुने गरेको थियो । हिल्सामा व्यापार गर्न गएका व्यापारीहरु पनि सिमकोट फिर्ता हुने तयारीमा छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार