Listen LIVE

अब आर्थिक क्रान्तिको आवश्यकता छ : उपप्रधानमन्त्री सिंह

बर्दिया : उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अबको कार्यभार राजनीतिक स्थीरताको जगमा आर्थिक क्रान्ति गर्नु रहेको बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेस बर्दिया जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै यसैलाई समृद्धि बनाउन लाग्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री सिंहले २००७ सालको क्रान्ति कांग्रेसले गरेको चर्चा गर्दै २०७२ सालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान पनि कांग्रेसकै नेतृत्वमै जारी भएको भन्दै अबको कार्यभार संविधानलाई संस्थागत गर्दै जनताको जीवन र जिविकोपार्जन सहज बनाउनुरहेको बताए ।

‘‘प्राप्त गरेको राजनीतिक अधिकारलाई सुरक्षित राखेर राजनीतिक स्थीरताको जगमा अब आर्थिक क्रान्ति गर्ने हो ।,’’ उपप्रधानमन्त्री सिंहले भने । अहिलेको व्यवस्था लामो संघर्ष र बलिदानबाट प्राप्त भएको भन्दै अधिकारसँगै सबैले आआफ्नो जिम्मेवारी पूरा गरेर बलियो बनाउनुपर्नेमा पनि सिंहले जोड दिए ।

अग्रज नेताहरूले आफ्नो समयमा जेलजिवन, यातना, निरवासन र सहिद भएर दिएको अधिकार सुरक्षित गर्ने दायित्व अहिलेको नेतृत्वको काँधमा रहेको भन्दै उनले त्यसका लागि नेपाली कांग्रेसलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले आन्तरिक रूपमा लोकतन्त्रको अभ्यास गर्दा अग्रजहरूले सिकाएको राजनीतिक संस्कार आत्मसाथ गर्नुपर्ने सिंहको भनाइ थियो । उनले पार्टी सङ्गठनलाई सुदृढ बनाउनका लागि लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गरे ।

‘‘तत्कालिन समयमा कांग्रेसले के गर्न सक्छ ? भन्थे । १०१७ सालमा गुमेको अधिकार लौहपुरूष गणेशमान सिंहको नेतृत्वमा भएको आन्दोलनपछि पुनःस्थापित भयो । जती जति बेला राष्ट्र सङ्कटमा पर्छ कांग्रेसले नै नेतृत्वदायी भूमिका खेलेको छ ।,’’ सिंहले भने ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले ०७ सालको क्रान्तिपछि प्रजातन्त्र स्थापनासँगै नेपालमा शिक्षाको लहर आएको बताए । देशको विकास र समृद्धिका लागि शिक्षा अनिवार्य रहेको महसुस गर्दै कांग्रेस नेतृत्वमा बनेको सरकारले गाउँ गाउँमा विद्यालय पुर्याएको स्मरण गरे ।

प्रजातन्त्र स्थापनापछि देशभर धेरै विद्यालय स्थापना भएको र त्यसले समाजका हरेक क्षेत्रमा ठुलो परिवर्तन ल्याएको बताए ।  

उपप्रधानमन्त्री सिंहले प्रजातन्त्र स्थापनाका लागि योगदान गर्ने बलिदान हुनेहरूप्रति उच्चसम्मान व्यक्त गर्दै उनीहरूले देखेको सपना पूरा गर्न सबै लाग्नुपर्ने बताए ।

प्रतिक्रिया