नेपालगञ्ज : बैकुण्ठधाम आध्यात्मिक महोत्सवमा तीन करोड संकलन भएको छ । बाँकेको राप्ती नदी किनारमा सिधनियाघाट बहुआयामिक वैकुण्ठधाम परियोजना निर्माणका लागि गत कार्तिक २२ देखि ३० गतेसम्म आयोजित महोत्सवमा ३ करोड ३ लाख १५ हजार ४ रुपैयाँ संकलन भएको मूल समारोह समिति कोषाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।
नेपालगञ्जमा आज आयोजित पत्रकार सम्मेलनमा आयब्यय विवरण सार्वजनिक गर्दै श्रेष्ठले १ करोड २७ लाख ७३ हजार १ सय १४ रुपैयाँ, क्युआरमार्फत २६ लाख ६३ हजार १ सय ७९, चेकमार्फत ८८ लाख ३४ हजार ६ सय ७४ र घोषणा गरिएको रकम ६० लाख ४४ हजार ४७ रुपैयाँ आम्दानी भएको बताए ।
यस्तै १ कट्ठा २६ धुर जग्गा पनि प्राप्त भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले डुडुवा–४ बाँकेमा १ कट्ठा तथा वडा नम्बर १८ का वडाध्यक्ष दीपककुमार बर्माले नेपालगञ्ज–१९ मा २६ धुर जग्गा दान गरेका छन् । श्रेष्ठले महोत्सव सञ्चालनका दौरान ७५ लाख रुपैयाँ खर्च भएको जानकारी दिए ।
महोत्सव मूल समारोह समिति संयोजक डा. सुरेश कुमार कनोडियाले मानव जीवनको अन्तिम विश्रामस्थल सिधनियाघाट निर्माण सहयोगार्थ सञ्चालित बैकुण्ठधाम आध्यात्मिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको बताए । कनोडियाले यो पुनित कार्यमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । उनले यो कार्यलाई जसरी पनि टुंगोमा पुर्याउने दृढता व्यक्त गरे । महोत्सवमा कथा वाचन पण्डित दीनबन्धु पोखरेलले गरेका थिए ।