Listen LIVE

चाडपर्वमा नेपालगञ्ज सुनसान, भारतीय बजारमा नेपालीको भीड

नेपालगञ्ज : सस्तो र राम्रो सामान पाइने सोँचमा वर्षेनी सीमावर्ती बजार रुपइडिहामा नेपालीको भिड बढ्दै गएकोछ । यस्तो भिड पछिल्ला वर्षहरुमा झन् बढेर आएकोछ ।  हरेक वर्ष चाडपर्व नजिकिएसँगै नेपालीहरुका लागि किनमेल गर्ने थलो भारतको रुपैडिहा बजार मुख्य केन्द्र बन्ने गरेकोछ । 

यसरी भारतीय बजारमा किनमेल गर्न जाने नेपालीहरु ठगिनुका साथै कमसल र गुणस्तरहिन सामान खरिद गरेर आउने गरेकाछन् । सीमापारि रुपइडिहा बजारमा किनमेल गर्ने नेपाली उपभोक्ताको सङ्ख्या दिनदिनै बढ्दै गएपछि नेपालगञ्ज र कोहलपुरका बजार सुनसान बनेकाछन् । 

कुनैबेला पाइला नै टेक्न धौधौ हुने नेपालगञ्ज सदरलाईन र एकलैनीमा यतिबेला सन्नाटा छाएकोछ । नेपालीको महान् चाड दशैँतिहार नजिकिँदै गरेका बेला हरितालिका तीजकै सेरेफोरोमा नेपालगञ्ज बजारमा स्वदेशी उपभोक्ताको खासै चहलपहल देखिएन । बजारमा मानिसको आवतजावत बाक्लिएपनि त्यो दृष्य सीमानाका जमुनाहमा केन्द्रित देखिन्छ । 

सामान्य घरेलु सामानदेखि ब्यवसायका लागि समेत आवश्यक पर्ने सामान खरिदारीका लागि उनीहरु सीमापारि जाने गरेका छन् । नेपाली उपभोक्तालाई सीमापारिबाट खरिदारी गर्न रोक्नका लागि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जमुनाहा नाकामा धेरै पटक बैठकको आयोजना, सचेतना अभियान तथा हेल्प डेस्क नै स्थापना गरे पनि खरिदारीका लागि सीमापारि जाने नेपालीको सङ्ख्या रोकिएको छैन । 

तीजका बेला अहिले रुपइडिहाका अधिकांश पसल नेपाली उपभोक्ताले भरिभराउ छन् । त्यहाँ जताततै नेपाली उपभोक्ता देख्न सकिन्छ । रुपइडिहाका व्यवसायी रमेश अग्रवालले अहिले ठुलो सङ्ख्यामा नेपाली उपभोक्ता सामान खरिद गर्न आइरहेकाले एक मिनेट पनि फुर्सद नपाएको जनाउँदै अन्य दिनको तुलनामा अहिले तेब्बरभन्दा बढी बिक्री भइरहेको बताए । 

उनले नेपालगञ्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बाँसगढी, भुरीगाउँ र दाङ तथा सुर्खेतसम्मबाट पनि खरिदारीका लागि नेपाली उपभोक्ता यहाँ आइरहेको बताए । रुपइडिहामा दैनिक नेपाली उपभोक्ताले कतिको मालसामान किनमेल गर्छन् भन्ने यकिन तथ्याङ्क नभए पनि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले चाडबाडका बेला त्यहाँ दैनिक १० करोडभन्दा बढीको कारोबार भइरहेको अनुमान गरेको छ ।

प्रतिक्रिया