Listen LIVE

रातीको समयमा भन्सार कार्यालय अगाडिको ब्यारियल हटाउन माग

नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालय अगाडिको ब्यारियल राति १० बजेपछि बन्द गरिंदा जमुनाहा नाका वरिपरि र पिप्रहवा लगायतका क्षेत्रमा बसोबास गर्ने नोपलीलाई रातिको समय आवागमन गर्न सास्ती खेप्नु परेको छ । 

नेपाल–भारत नाका राति १० बजे बन्द हुने भए पनि भारतबाट आउने नेपालीलाई भारतीय सुरक्षा निकाय एसएसबीले राति १२ बजेसम्म अवस्था हेरेर छोड्ने गरेकाले भन्सार अगाडिको ब्यारियल १० बजेपछि नै बन्द हुँदा नागरिकलाई नेपालगञ्ज आउन समस्या हुँदै आएको छ । 

जमुनाहा नाका नजिकका नेपाली बिरामी परेपछि उनीहरुलाई नेपालगन्ज अस्पताल लैजान समेत समस्या हुनेगरेको स्थानीयले जनाएका छन् । सर्वसाधारणको सोही समस्यालाई ध्यानमा राख्दै नेपालगञ्ज भन्सार कार्यालय अगाडिको ‘ब्यारियल’ रातिको समय खुल्ला राखेर स्थानीय नागरिकले भोग्दै आएको सास्ती हटाउन नेकपा (एमाले) बाँकेका उपसचिव किशोर थापाले बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए । 

एमाले बाँकेका उपसचिव थापाले प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भेटेर जमुनाहा नाकाको ब्यारियल रातिको समयमा बन्द हुने भएकाले त्यसको करिब एक किलोमिटर वर भन्सारले ब्यारियल लगाएर आवात–जावत रोक्नु कुनै प्रकारले जायज नभएको बताए । 

नेपाल–भारत अन्तर्राष्ट्रिय सिमामा राति १० बजे बन्द हुँदै आएको छ । बिहान ६ बजे खुल्ने गरेको छ । नेपालतर्फ सिमानाका जमुनाहासहित एक किलोमिटर वर रहेको भन्सार समेत बन्द हुन्छ । त्यसरी बन्द हुँदा भन्सार र जमुनाहासम्म बसोबास गर्ने सर्बसाधारणलाई मर्का परेको छ । 

ब्यारियल बन्द रहेकै कारण सो ब्यारियलमा ठोक्किएर दुई मोटरसाइकल यात्रुको निधन भइसकेको छ । औचित्य नभएकाले ब्यारियल रातिमा बन्द नगर्न माग गर्दै उपसचिव थापाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए । 

प्रमुख जिल्ला अधिकारी रिजालले यो बिषयमा आफुले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरी नेपाली नागरिकलाई सहज हुनेगरी खुलाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।  

प्रतिक्रिया