Listen LIVE

नेपालगञ्जमा बृहत्तर विद्यालय सुरक्षा योजना बारे छलफल

नेपालगञ्ज : नेपालगञ्जका विद्यालयलाई विपद्बाट जोखिमरहित बनाउन बृहत्तर विद्यालय सुरक्षा योेजनाका विषयमा छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना ९ सुपरको आयोजनामा बृहत्तर विद्यालय सुरक्षा योजना सम्बन्धि छलफल गरिएको हो । 

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले विद्यालय सुरक्षा योजनाका बारेमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा भूकम्प लगायत अन्य विपदजन्य जोखिमबाट विद्यालयलाई सुरक्षित राख्दै भयरहित शिक्षण सिकाईमा जोड दिइएको छ ।

कार्यक्रममा वडा नम्बर ३, ७, ८ र ११ का विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, वडा अध्यक्ष, वडा सचिव लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा भुकम्प प्रतिरोधी संरचना निर्माणदेखि खुला ठाउँको पहिचानसंगै बृहत्तर विद्यालय सुरक्षा योजनाका विषयमा ब्यापक छलफल भएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । 

नेपालगञ्ज उपमहानगरपालिका विपद तथा वातावरण समिति संयोजक समिर प्रताप सिंहले विद्यालयलाई भूकम्पीय जोखिमरहित बनाउन आवश्यक रहेको बताए । वडा नम्बर ११ का वडा अध्यक्ष नन्द किशोर कश्यपले विपद जतिबेला पनि आउन सक्ने भन्दै पूर्व तयारी र सचेतनामा जोड दिए । युनिसेफका नरेश निदालले पुराना संरचनालाई भूकम्प प्रतिरोधी बनाउन रेट्रोफिटिङ गर्न सकिनेमा जोड दिए । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ ।

प्रतिक्रिया