नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनतालाई सुशासनको प्रत्याभूति दिने गरी गरिएका निर्णय पूर्णरुपमा कार्यान्वयन गरिने बताएका छन् ।
नेकपा (एमाले) बाँकेको आयोजना र जिल्ला स्कुल विभागको व्यवस्थापनमा बर्दियाको ठाकुरद्वारामा सोमबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा मङ्गलबार सहजीकरण गर्दै एमालेका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री आचार्यले प्रदेश संरचनाको सन्दर्भमा जनतामा भएको निराशा, कुण्ठा र आक्रोशलाई राम्रो काम गरेर मात्र ठिक ठाउँमा ल्याउन सकिने बताए ।
मुख्यमन्त्री आचार्यले भने, ‘‘भ्रष्टाचार अन्य सुशासन स्थापना लागि गरिएका सम्पूर्ण निर्णयबाट फिर्ता हुने छैनौ ।’’ उनले पाँच लाख रुपियाँभन्दा माथिका योजना अनिवार्य टेण्डरमा लैजाने निर्णय फिर्ताका लागि दबाब आएको भए पनि कार्यान्वयनमा लगिएको बताए ।
जनताको गुनासो र सुझावलाई आवश्यकता महसुस गरी हरेक कार्यालयमा अनिवार्य सुझाव पेटिका राखी १५/१५ दिनमा त्यसलाई खोलेर मन्त्रालयमा पठाउने व्यवस्था गर्न लागिएको उनले बताए ।
उनले अबदेखि मझौला खालका योजना प्रदेशले कार्यान्वयन गर्नेगरी नीतिगत निर्णय गर्न लागिएको जानकारी दिए । प्रदेश सरकार स्थापनापछि थालनी भएका धेरै योजना अलपत्र परेको भन्दै उनले ती योजना सम्पन्न गराउन सरकारले ध्यान दिने बताए । भौतिक मात्र विकास नहुने भन्दै उनले विदेशी लगानी भित्र्याउन सङ्घीय सरकारमार्फत तयारी गरिएको बताए ।
डिपिआर भएका योजना मात्रै सम्बद्ध कार्यालय मार्फत समावेश गरी आवश्यकताको आधारमा बजेट निर्माण गरिने उनले जानकारी दिए ।
मुख्यमन्त्री आचार्यले समृद्धि, विकास र सुशासनमा पार्टी पङ्क्तिको दायित्व विषयमा सहजीकरण गरे । यसै घनश्याम कोइरालाले प्रशिक्षण विधि, व्यवस्थापन शैली र कला तथा केन्द्रीय सदस्य सूर्य ढकालले सहजीकरण गरेका छन् ।
पहिलो दिन सोमबार महासचिव शङ्कर पोखरेलले १० औं महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा तथा नेपालमा राजनीतिक दलहरूको तुलनात्मक अध्ययन, उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले मार्क्सवादी अध्ययन, जनताको बहुदलीय जनवादका विषयमा र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले पार्टी सङ्गठनका समस्या र समाधानको विकासका विषयमा प्रशिक्षण दिएको अध्यक्ष निरक गुरुङले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार