Listen LIVE

भेरी अस्पतालमा ५० शव राख्ने आधुनिक शवगृह बनाइने

नेपालगञ्ज : भेरी अस्पताल, नेपालगञ्जमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण तथा विस्तार गरिने भएको छ । बाढी, पहिरो, भूकम्प लगायतका विपद्का समयमा एकैपटक ठूलो सङ्ख्यामा शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले शवगृहको क्षमता विस्तार गर्ने निर्णय गरेको हो ।

हाल भेरी अस्पतालको शवगृहमा एकैपटक छ वटा शव मात्र राख्न सकिने अवस्था छ । विपद्का समयमा शवको सुरक्षित संरक्षण, पहिचान, परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सहज हुने गरी कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण तथा विस्तारको प्रक्रिया अघि बढाइने भएको हो ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन दर्नालले विपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन चुनौतीपूर्ण बन्ने अवस्थालाई ध्यानमा राखेर पर्याप्त क्षमताको शवगृह आवश्यक रहेको बताए । भोटेकोशीमा आएको बाढीबाट प्राप्त सिकाइका आधारमा भविष्यमा शव व्यवस्थापनमा समस्या नआओस् भन्ने उद्देश्यले अस्पतालमा आवश्यक पूर्वाधार विकास गर्न लागिएको उनले बताए ।

'अहिले भेरी अस्पतालमा छ जनाको शव व्यवस्थापन गर्न सकिने शवगृह छ । यसको क्षमता बढाएर ५० बनाउन मन्त्रालयले निर्णय गरेर परिपत्र पठाएको छ,' उनले भने, 'यद्यपि बजेट भने पठाएको छैन । अब अस्पताल विकास समितिको बैठक बसेर निर्णय गरी विस्तृत परियोजना बनाएर बजेट माग गर्ने कुरा भएको छ । भेरी अस्पतालसँग यो संरचना बनाउन जमिन पर्याप्त छ ।'

उनका अनुसार भेरी अस्पताल पश्चिम नेपालकै प्रमुख रेफरल अस्पताल भएकाले दैनिकरूपमा आउने शवको सङ्ख्या तुलनात्मक रूपमा बढी भए पनि अहिलेसम्म व्यवस्थापनमा ठूलो समस्या देखिएको छैन । विपद्का समयमा भने एकैपटक धेरै शव आउन सक्ने भएकाले अहिलेको क्षमता पर्याप्त नहुने अवस्था छ । अस्पताल व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष डक्टप्रसाद धितालले पर्याप्त क्षमताको शवगृह निर्माण भएपछि शवलाई सुरक्षित र व्यवस्थित रूपमा राख्न, पहिचान तथा परीक्षण गर्न र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सहज हुने बताए ।

'नेपाल सरकारको यो निर्णय भेरी अस्पताल र समग्र पश्चिम नेपालका लागि अत्यन्त महत्वपूर्ण र दूरदर्शी कदम हो,' उनले भने, 'कम्तीमा ५० शव अट्ने आधुनिक शवगृह निर्माण भएपछि शवको सुरक्षित, सम्मानजनक र वैज्ञानिक व्यवस्थापनमा ठूलो सहजता हुनेछ ।'

उनले नयाँ शवगृहले विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्य क्षमता बढाउनुका साथै फरेन्सिक सेवा र अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाको गुणस्तर सुधारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । सरकारको निर्णयलाई छिटो कार्यान्वयनमा लैजान पहल गरिने उनले बताए ।

भेरी अस्पताल पश्चिम नेपालकै प्रमुख सरकारी अस्पताल भएकाले बाँकेसहित आसपासका जिल्लामा हुने साना–ठूला विपद्का घटनामा शव व्यवस्थापनको चापसमेत यहाँ पर्ने गरेको छ । विपद्का बेला एकैपटक धेरै शव प्राप्त हुँदा तत्काल सुरक्षित राख्ने स्थानको अभाव हुन सक्ने अवस्थालाई ध्यानमा राखेर शवगृहको क्षमता विस्तार गर्न लागिएको हो ।

प्रतिक्रिया