नेपालगञ्ज : विद्युत महसुल नतिरेका कारण लाइन काट्न गएका नेपाल विद्युत प्राधिकरणका कर्मचारी फिल्डमै कुटिएका छन् । मंगलबार दिउँसो नियमित विद्युत काट्ने लिष्ट लिएर फिल्ड पुगेका कर्मचारीहरू नेपालगञ्ज–३ एकलैनी क्षेत्रमा कुटिएका हुन् । घटनालाई लिएर विद्युत प्राधिकरणका कर्मचारीहरूले दोषीलाई कारवाही र फिल्डमा खटिने कर्मचारीहरूको सुरक्षा सुनिश्चितता नभएसम्म फिल्डको काम रोक्ने घोषणा गरेका छन् । यसले गर्मी बढ्दै जाँदा आउने प्राविधिक समस्या समाधानका लागि फिल्डमा जानै पर्ने अवस्थालाई तत्काल बाधा पुग्ने देखिन्छ ।
‘अहिलेसम्म यसखालको घटना भएको थिएन’, नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले घटनाले आफुलाई स्तब्ध बनाएको प्रतिक्रिया दिंदै भने फिल्डमा जाने कर्मचारीको सुरक्षालाई लिएर नयाँ ढंगले सोच्नु पर्ने देखिएको छ । लामिछानेका अनुसार, विद्युत चुहावट नियन्त्रणका लागि रातीको समय फिल्ड जाँदा सुरक्षा व्यवस्था गरिंदै आएपनि अन्य नियमित कार्यमा त्यसखालको समस्या अहिलेसम्म आएको थिएन ।
यद्यपि, एकलैनीमा विद्युत काट्न सुरुमा पुगेका दुई जना कर्मचारीलाई अवरोध भएपछि थप कर्मचारी त्यहाँ पुगेको बताइन्छ । अवरोध हुने वित्तिकै सुरक्षा व्यवस्थापन मिलाउनु पर्नेमा त्यसमा विद्युत प्राधिकरणले बेवास्ता गरेको पाइन्छ । सुरक्षा व्यवस्था नमिलाई कर्मचारी फिल्डमा पुग्दा उनीहरूमाथि आक्रमण भएको स्थानीय बताउँछन् । विद्युत प्राधिकरणले औपचारिक उजुरी समेत प्रहरीलाई दिएको पाइँदैन ।
बाँके प्रहरी प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिपक पातलीले विद्युत्का चार जना कर्मचारी आक्रमणमा घाइते भएको जानकारी दिएका छन् । ‘जसमध्ये एक जना गम्भीर छन्’, उनले भने । उनले विद्युतका कर्मचारीका तर्फबाट उजुरी प्राप्त भएपछि अनुसन्धान अगाडि बढाएको जानकारी दिए । ‘केही व्यक्ति विरुद्ध विद्युतका कर्मचारीबाट उजुरी प्राप्त भएको छ’, उनले भने, ‘अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारवाही गर्छौ ।’
यसैबीच, नेपाल विद्युत प्राधिकरणका क्रियाशील ट्रेड युनियनहरूले कर्मचारीको आक्रमणको विरोध गर्दै दोषीलाई कारवाहीको माग गरेकाछन् । उनीहरूले स्पष्ट दोष पक्राउ नपर्दासम्म फिल्डमा काम गर्न नसक्ने जानकारी गराएका छन् ।
नेपाल विद्युत् प्राधिकरण कर्मचारी यूनियन नेपालगञ्ज इकाई समितिका सचिव अंगराज बुढाथोकी, नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियन केन्द्रीय समितिका सदस्य चेत बहादुर केसी, नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ नेपालगञ्ज इकाइ समितिका (आधिकारिक टेड यूनियन)का अध्यक्ष चन्द्र बहादुर बिसीले नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रकाका प्रमुखलाई घटनाबारे ध्यानाकर्षण गराउँदै भनेका छन्, ‘लोकेन्द्र जंग शाही, उदयराज यादव, सतीराम यादव, सन्तराम यादव र देशराज यादवलाई ज्यान मार्ने उद्देश्यले नियन्त्रणमा लिई सांघातिक आक्रमण गरि घाइते बनाएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
ध्यानाकर्षण पत्रमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एकलाइनी क्षेत्रमा नेपालगन्ज वितरण केन्द्रबाट विद्युत महसुल बाँकी बक्यौता रहेका घरमा लाइन काट्ने क्रममा सोही स्थान निवासी जैनुल अहमदको नाउमा रहेको ग्राहककोमा पुग्दा ग्राहक पक्षका नेपालगन्ज–३ बस्ने आल्तमस अन्सारी, चांदबाबु अन्सारी, निजामुद्दिन अन्सारी लगायत अन्य २०।२५ जनाको समुहले हुलहुज्जत गरि नेपालगन्ज वितरण केन्द्रबाट खटी गएका कार्यरत कर्मचारीलाई घाइते बनाएको उल्लेख छ ।
‘कार्यालयको काम गर्दा कर्मचारी आक्रमणमा पर्नु र आफै भागेर आफ्नो ज्यान जोगाउनुपर्ने नाजुक अवस्थाको घटनाले कर्मचारीको काम गर्ने मनोबल घट्ने र कार्यक्षेत्रमा गई काम गर्दा जीउ ज्यानको सुरक्षा समेत नहुने देखिएको छ’, कर्मचारी संगठनको ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘तसर्थ उक्त घटनामा संलग्न दोषीहरूलाई कानुन बमोजिम कडाभन्दा कडा कारबाहीको लागि जोडदार माग गर्दछौ ।’ उनीहरूले दोषी पक्राउ नपरेर खुलेयाम हिडिरहेको हुदा उक्त घटनामा दोषीहरूलाई पक्राउ नगर्दासम्म फिल्डको काम गर्न सक्ने स्थिति नभएको व्यहोरा प्राधिकरणलाई जानकारी गराएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार