Listen LIVE

बाँकेको सुधारगृहको घटनाबारे छानबिन गर्न समिति गठन

नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता क्षेत्रीय कारागार परिसरमा रहेको बाल सुधारगृहबाट बालबिजाइँकर्ता फरार भएको घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । 

बुधवार साँझ नौबस्तास्थित बाल सुधारगृहबाट १२ जना बालबिजाइँकर्ता फरार भएको घट्नाको छानबिन गरी प्रतिवेदन पेस गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सो छानबिन समिति गठन गरेर कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी, सशस्त्र प्रहरीका डिएसपी, अनुसन्धान विभाग र कारागार प्रशासनका कर्मचारीलाई समितिको सदस्यमा राखिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले सो घटनाको जाँचबुझ गरी प्रतिवेदन पेस गर्न समितिलाई १५ दिनको समय सीमासमेत तोकेको छ । 

बाँकेमा रहेका दुई वटा बाल सुधारगृहबाट पटक पटक बालबिजाइँकर्ताहरु फरार हुने गरेकोले सो बारेमा विस्तृत अध्ययन गर्नुका साथै सुरक्षाको व्यवस्थाको पनि समीक्षा गरेर प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । 

बाँकेको डुलुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधारगृह र बैजनाथ गाउँ पालिकामा रहेको नौबस्ता बाल सुधारगृहमा रहेका बालबिजाइँकर्ताहरुबिच विभिन्न बहानामा पटक पटक झडप, विवाद र कुटपिट हुँदै आएको छ । 

लागुऔषध छिराउने विषयमा यसअघि डुडुवाको बाल सुधारगृहमा बालबिजाइँकर्ताहरुमा पटक पटक विवाद र झडप हुने गरेको थियो । सोही कारणले डुडुवामा रहेको बाल सुधारगृहमा विवाद गर्ने अधिकांशलाई त्यहाँबाट हटाएर नौबस्ता पठाइएको थियो ।  

सोही क्रममा पछिल्लो पटक कात्तिक २६ गते नौ बस्ता बाल सुधारगृहबाट तीन जना बालबिजाइँकर्ता फरार भएका थिए भने यही बुधवार साँझ खाना खाने बेलामा विवाद गरेर १२ जना बालबिजाइँकर्ता फरार भएका थिए । 

तीमध्ये नौ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने तीन जना अझै फरार छन् । यसअघि कात्तिक २६ गते फरार भएका तीन जना बालबिजाइँकर्ता अझै पनि पक्राउ परेका छैनन् । 

फरार रहेका ३ जना बालबिजाइँकर्ताको खोजी कार्य तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।

प्रतिक्रिया