Listen LIVE

हाइपरसोनिक मिसाइलयुक्त अत्याधुनिक हतियार परीक्षण गरेको उत्तर कोरियाको दाबी

एजेन्सी : उत्तर कोरियाले हाइपरसोनिक मिसाइल प्रयोग गरिएको ‘अत्याधुनिक’ नयाँ हतियार प्रणालीको सफल परीक्षण गरेको दाबी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहितका विश्व नेताहरू दक्षिण कोरिया भ्रमणको तयारीमा रहेको ठीक एक हप्ताअघि उत्तर कोरियाले यस्तो दाबी गरेको हो। उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएले शीर्ष सैन्य अधिकारी श्री पाक जोङ चोनलाई उद्धृत गर्दै ‘यो नयाँ अत्याधुनिक हतियार प्रणालीले  आत्मरक्षात्मक प्रविधि निरन्तर सुदृढ हुँदै गएको स्पष्ट भएको जनाएको छ।

एजेन्सीका अनुसार उक्त परीक्षणको उद्देश्य सम्भावित शत्रुहरू विरुद्धको रणनीतिक प्रतिरोधलाई अझ स्थिर र प्रभावकारी बनाउनु हो। उत्तर कोरियाली नेता किम जोङ–उन यस परीक्षणमा सहभागी नभएको पुष्टि गरिएको छ।

केसिएनएले जारी गरेका तस्बिरहरूमा दुईवटा ‘हाइपरसोनिक प्रोजेक्टाइल’ राजधानी प्योङयाङको दक्षिणबाट प्रक्षेपण गरी देशको उत्तरपूर्वी भागमा रहेका लक्ष्यहरूमा प्रहार गरिएको देखाइएको छ। तस्विरहरूमा मिसाइलले आकाशमा तीव्र गतिमा उड्दै लक्ष्यमा पुगेर कालो धुवाँ र माटोको मुस्लोबीच विस्फोट हुने क्षण पनि समावेश गरिएको छ।

हाइपरसोनिक मिसाइलहरू ध्वनिको गतिभन्दा पाँच गुणा बढी गतिमा यात्रा गर्न सक्ने र उडानको क्रममा दिशा परिवर्तन गर्न सक्ने भएकाले तिनीहरूलाई ट्र्याक वा रोकथाम गर्न कठिन मानिन्छ। उत्तर कोरियाको यो परीक्षणलाई क्षेत्रीय शक्ति सन्तुलनमा नयाँ चुनौतीका रूपमा हेरिएको छ।

प्रतिक्रिया