नेपालगञ्ज : बाँकेको खजुरामा विषाक्त खाना अर्थात् फूड प्वाइजनका कारण एक जनाको मृत्यु भएको छ भने एकै घरका ६ जना बिरामी परेका छन् ।
फूड प्वाइजनका कारण खजुरा गाउँपालिका वडा ५ बसन्तपुरका एकै घरका ६ जना बिरामी परेको र बिरामीमध्ये घरमुलीको मृत्यु भएको खजुरा गाउँपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुशील थापामगरले जानकारी दिइन् ।
हेल्थ असिस्टेन्ट थापाका अनुसार फूड प्वाइजनका कारण घरमुली ६५ वर्षीय केशवराम अहिरको मृत्यु भएको हो । उनका अनुसार मृतककी ५५ वर्षीया श्रीमती चौरासिया यादव, ३६ वर्षीय छोरा भुवनटु यादव, ३५ वर्षीया बुहारी मीना यादव, १४ वर्षीय नाति जसमान यादव र ६ वर्षीय नाति अमृत यादव बिरामी भएका छन् । विरामी सबै जनाको भेरी अस्पतालमा उपचार भईरहेको छ ।
आइतवार राती उनीहरु सबैले घरमा पिँडालुको तरकारी, साग तथा पुरी खाएको र रातिदेखि नै सबैलाई झाडाबान्ता भएको थियो । आज बिहान ८ बजे मात्र उपचारका लागि स्वास्थ्य संस्था ल्याउँदै गर्दा बाटोमै अहिरको मृत्यु भएको थापामगरले जानकारी दिइन् ।
“हिजो बेलुका खाएको खानाबाट एकै घरका ६ जना बिरामी पर्नुभएको रहेछ, त्यो खाना खाएपछि उहाँहरुलाई झाडाबान्ता सुरु भएछ, रातभरि उपचार गर्न जानुभएन, आज बिहान मात्र उपचार गर्न लैजाँदै गर्दा घरमुलीको बाटोमै मृत्यु भएछ” हेल्थ असिस्टेन्ट थापामगरले भनिन् ।
“परिवारका अन्य पाँच जनालाई आज बिहान घरमै पुगेर उपचार गरेका छौं, फूड प्वाइजन हुँदा झाडापखाला भएको र सोही कारण मृत्यु भएको हुनसक्ने आशङ्का गरेका छौँ” थापाले भनिन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार