Listen LIVE

डुडुवाका कार्यपालिका सदस्यद्वारा बैठक बहिस्कार, गाउँसभा अन्योलमा

डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकाले आव्हान गरेको गाउँसभालाई कार्यपालिकाका सदस्यहरुले बहिस्कार गरेका छन् । यही पुष २६ गते डुडुवाले बोलाएको कार्यपालिकाका बैठक बहिस्कार गरेका बहुमतका सदस्य र वडाध्यक्षहरुले गाउँसभा बहिस्कार गरेका हुन् ।

कार्यपालिका सदस्य र वडाध्यक्षहरुसँग कुनै छलफलनै नगरी आफ्नो मनोमानी विधेयक र प्रस्ताव ल्याउन लागेको भन्दै बैठक बहिस्कार गरिएको उनीहरुले बताएका छन् ।

बहिस्कार गर्ने समूहको कार्यपालिका सदस्य शमुसद्दीन सल्मानीको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न निर्णयसमेत गरेको छ । कार्यपालिका बैठक र गाउँसभामा विभिन्न असहमति भएकोले बैठक बहिस्कार गरिएको कार्यपालिका सदस्य जवन्ती महाउतले बताइन् ।

गाउँपालिकाले ल्याउन लागेको विधेय र प्रस्तावमा असहमति जनाउँदै ११ जनासहित बहुमतको कार्यपालिका सदस्यहरुले बैठकनै बसेर गाउँसभा बहिस्कार गरेको डुडुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रले बताए ।

यसैगरी गाउँपालिकाले पालिका प्रहरी भर्ना गर्ने भन्दै ल्याउन लागेको विधेयकमा आफुहरुको असन्तुष्टि रहेको उनले जिकिर गरे । पालिका प्रहरीमा गाउँपालिका भन्दा बाहिरको नागरिकलाई मात्रै राख्ने गाउँपालिकाको मनशाय रहेकोले उक्त कार्य आफुहरुलाई स्वीकार्य नहुने वडाध्यक्ष मिश्रले बताए ।

उनले भने, ‘गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले तानाशाही तरीकाले पालिका चलाउन खोजेका छन, त्यो मान्य हुँदैन ।, कमिशनको चक्करमा गाउँपालिकाभन्दा बाहिरका मान्छेलाई पालिका प्रहरीमा भर्ना गर्ने चलखेल गरिरहेका छन् ।,

प्रतिक्रिया