Listen LIVE

बाँकेमा मोतिविन्दुका बिरामी बढ्दै

नेपालगञ्ज : बाँके जिल्लाका ग्रामीण र सहरी क्षेत्रमा पछिल्लो समयमा मोतिविन्दुका बिरामीको सङ्ख्या बढ्दै गएको देखिएको छ । जिल्लामा समय समयमा आयोजना गरिने निःशुल्क आँखा उपचार शिविरमा मोतिविन्दुका बिरामी बढी देखिने गरेको पाइएको छ ।

नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालका अनुसार गत वर्ष बाँकेका विभिन्न पालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा धेरै मोतिविन्दुका बिरामी भेटिएका थिए भने यस वर्ष पनि त्यस्ता बिरामी बढ्दै गएको छ ।

कोहलपुर नगरपालिकामा हाल सञ्चालन भइरहेको निःशुल्क आँखा जाँच शिविरमा पनि ठुलो सङ्ख्यामा मोतिविन्दुका बिरामी भेटिएका छन् । तिलगङ्गा आँखा प्रतिष्ठान र कोहलपुर नगरपालिकाको संयुक्त आयोजनामा तीन दिन सञ्चालन भएको शिविरमा ८९५ जनाले सेवा लिएका थिए । तीमध्ये १६९ जना मोतिविन्दुका बिरामी शल्यक्रियाका लागि छनोट गरिएको कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले जानकारी दिए ।

विवरण अनुसार, वडा नं. १५ स्थित नगर स्वास्थ्य प्रवर्धन केन्द्र अकलघरवामा २६६ जनाले आँखा जाँच सेवा लिएका थिए, जसमा १७७ महिला र ८९ पुरुष रहेका थिए । जाँचका क्रममा ४२ जनालाई मोतिविन्दु शल्यक्रियाका लागि छनोट गरिएको थियो ।

कोहलपुर नगरपालिका–४ स्थित रझेना स्वास्थ्य चौकीमा ३५५ जनाले सेवा लिएका थिए, जसमा २२५ महिला र १३० पुरुष थिए । यहाँ ६९ जनालाई शल्यक्रियाका लागि छनोट गरिएको थियो ।

त्यसैगरी, नगरपालिका–२ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा २७४ जनाले सेवा लिएका थिए। तीमध्ये १६७ महिला र १०७ पुरुष रहेका थिए, र ५८ जनालाई मोतिविन्दु अपरेसनका लागि छनोट गरिएको थियो ।

नगर प्रमुख आचार्यका अनुसार, निःशुल्क आँखा शिविरमार्फत ग्रामीण र सहरी क्षेत्रका आँखासम्बन्धी समस्याग्रस्त बिरामीलाई सेवा प्रदान गर्न तथा उपचारको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कोहलपुरमा निःशुल्क आँखा शिविर आगामी १५ गतेसम्म सञ्चालन हुने छ । शल्यक्रियाका लागि छनोट भएका बिरामीको अपरेसन चैत १६, १७ र १८ गते कोहलपुर नगर अस्पतालमा निःशुल्क हुने छ ।

प्रतिक्रिया