Listen LIVE

मानव बेचबिखन र लागुऔषध दुर्व्यसन रोकथामसम्बन्धी तालिम सम्पन्न

बर्दिया : मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी अधिकारकर्मी तथा सीमावर्ती क्षेत्रमा कार्यरत सरोकारवालाका लागि आयोजित दुईदिने क्षमता अभिवृद्धि तालिम बर्दियाको राजापुरमा सम्पन्न भएको छ ।

बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेसनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकासँगको समन्वयमा सुरक्षा परियोजनाअन्तर्गत सो तालिम सञ्चालन गरिएको हो । 

सीमावर्ती क्षेत्रमा देखापर्ने मानव बेचबिखन, लागुऔषध दुव्र्यसन तथा सीमापार आवतजावतका क्रममा उत्पन्न हुने जोखिमलगायतका संरक्षणसम्बन्धी समस्यालाई सम्बोधन गर्न स्थानीय सरोकारवालाको ज्ञान, सीप, समन्वय र सामूहिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ ।

तालिमको उदघाटन सत्रको अध्यक्षता राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले गरेकी थिइन् । कार्यक्रममा नगरपालिकाका वडा नं. १ देखि १० सम्मका वडाध्यक्ष तथा वडा सदस्य, वडा सचिव, इलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, रोजगार तथा स्वास्थ्य शाखाका प्रतिनिधिलगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

तालिमले स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा समुदायस्तरका प्रतिनिधिको विविध सहभागिताले समुदायको सुरक्षा तथा संरक्षणका सवालमा साझा बुझाइ, समन्वय र सामूहिक जिम्मेवारी सुदृढ गर्ने महत्वपूर्ण आधार तयार गरेको बताइएको छ ।

दुई दिनसम्म सञ्चालन भएको तालिममा मानव बेचबिखन तथा यसको रोकथाम, लागुऔषध दुव्र्यसन र त्यसबाट उत्पन्न हुने जोखिम, सीमापार संरक्षणका सवाल, जोखिममा रहेका व्यक्तिको पहिचान, सूचना आदानप्रदान, आवश्यक सहयोगका लागि सम्बन्धित निकायमा पठाउने तथा प्रतिक्रिया दिने संयन्त्र र विभिन्न सरोकारवालाको भूमिका तथा जिम्मेवारीका विषयमा छलफल गरिएको थियो ।

तालिमको सहजीकरण बिनय दिल लामाले गरेका थिए भने स्थलगत व्यवस्थापन तथा समन्वयको जिम्मेवारी क्षेत्रीय पर्यवेक्षक परमिशा थारुले सम्हालेकी थिइन् ।

तालिमको समापन राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको अध्यक्षतामा भएको थियो । समापन कार्यक्रममा प्रशासन शाखा प्रमुखको समेत उपस्थिति रहेको थियो ।

समापन सत्रमा तालिमबाट प्राप्त प्रमुख सिकाइ तथा अनुभवको समीक्षा गर्दै तालिमबाट हासिल भएका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिइएको थियो । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन तथा सीमापारबाट उत्पन्न हुन सक्ने संरक्षणसम्बन्धी जोखिम न्यूनीकरणका लागि समुदाय तथा संस्थागत तहमा निरन्तर, समन्वयात्मक र प्रभावकारी रूपमा काम गर्नुपर्ने सहभागीहरूले बताएका थिए ।

तालिमले रोकथाम र संरक्षण सबैको साझा जिम्मेवारी भएको सन्देशलाई समेत थप बलियो बनाएको छ । स्थानीय तहमा उपलब्ध क्षमता, साझेदारी र समन्वय संयन्त्रलाई सुदृढ गर्दै सबै सरोकारवाला एकजुट भएर काम गर्न सके जोखिममा रहेका व्यक्तिलाई समयमै जानकारी, सुरक्षा तथा आवश्यक सहयोग उपलब्ध गराउन सकिनेमा जोड दिइएको छ ।

प्रतिक्रिया