Listen LIVE

कोहलपुरको म्याक्स होटलबाट ४२ जना पक्राउ

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका–११ स्थित होटल म्याक्समा ठुलो परिमाणमा अनलाइन जुवा भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर अनलाइन जुवा खेलाउने ४२  जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरका अनुसार पक्राउ पर्नेमा ४० जना भारतीय नागरिक र २ जना नेपाली नागरिक रहेका छन् । उनले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू अनलाइन सट्टेबाजीमा सङ्लग्न रहेको खुलेको जनाउँदै पक्राउ परेकाहरूको साथबाट २८ वटा ल्यापटप र ७८ वटा मोबाइल फोन बरामद भएको बताए । 

होटलबाट प्रहरीले अन्य विद्युतीय उपकरणहरु समेत बरामद गरेको तथा उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी राठौरले बताए । उनले भने, 'होटलमा ठुलो परिमाणमा अनलाइन जुवा खेलाउने कार्य भइरहेको जानकारीका आधारमा छापा मारिएको हो, अन्य सबै जानकारी जुटाउने कार्य चलिरहेको छ । विस्तृत जानकारी बुधवारसम्म मात्रै दिन सकिनेछ ।' 

घटनाबारे थप अनुसन्धान भइरहेको र बरामद सामग्रीको समेत सूक्ष्म अनुसन्धान भइरहेको उनको भनाइ छ । 

पछिल्लो समयमा सामाजिक सञ्जालमा अनलाइन जुवा र सट्टेबाजीको प्रचार प्रसार व्यापक भइरहेकोले प्रहरीले निगरानी बढाएको छ । सोही क्रममा होटल म्याक्समा ठुलो परिमाणमा अनलाइन जुवा र सट्टेबाजी भइरहेको सूचना आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया