Listen LIVE

पहिरोले गोठ पुर्दा नौ बाख्रा मरे, ३५ घर जोखिममा

रुकुमपश्चिम : अविरल वर्षाका कारण आएको पहिरोमा परेर रुकुमपश्चिमका विभिन्न बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् भने एक गोठ पुरिदा नौ बाख्रा मरेका छन् ।

शुक्रबार राती मुसीकोट नगरपालिका–८ का लालजित बुढाको बाख्रा गोठ पहिरोले पुरिदा गोठमा रहेका नौ वटा बाख्रा पुरिएर मरेको वडा अध्यक्ष जयबहादुर थापाले जानकारी दिए । उनका अनुसार गाउँमाथिको पहिरोका कारण यहाँको लसुनबारी र क्वाम्माखोला बस्ती उच्च जोखिममा रहेका छन् ।

लसुनबारी टोलका ३५ घर पहिरोको जोखिममा रहेका छन् भने १० परिवार विस्थापित भएका छन् । त्यसैगरी, क्वाम्माखोलाका चार घरपरिवार विस्थापित भएका छन् । उनीहरुले घरको सामानहरु निकालेर आफन्तको घरमा बसिरहेको वडा अध्यक्ष थापाले जानकारी दिए ।

सोही वडाका वडा सदस्य हिमकुमार पाण्डेका अनुसार बाढी र पहिरोका कारण यस वडा क्षेत्रमा रहेका काठे पुल र ट्रस पुल समत जोखिमा रहेका छन् । दुई वटा ट्रस पुल र एउटा काठेपुल पहिरो र बाढीका कारण जोखिममा रहेको उनले जानकारी दिए ।

पहिरोकै कारण सोही वडाको घट्टेखोला, तिर्सिङ, उधिनढुङ्गा लगायतका टोलमा समेत क्षति गरेको छ । यहाँका सात घरमा पहिरोले क्षति गरेको उनले उल्लेख गरे । यसका साथै खोलामा आएको बाढीले खेतीयोग्य जमिन चिरा पारेको छ भने धान खेतीमा क्षति गरेको छ । वडामा भएको सम्पूर्ण क्षतिको विवरण सङ्कलन भईरहेको वडा कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया