Listen LIVE

ढिलासुस्तीलाई सरकारले सहँदैन : मुख्यमन्त्री आचार्य

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने बताएका छन् । निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने योजना सरकारले बनाएको जानकारी दिदै उहाँले ढिलासुस्तीलाई नसहने स्पष्ट पारे । 

दाङको धार्मिक पर्यटकीयस्थल बाह्रकुने दहमा मंगलबार आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने, अटेरी गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गरिने समेत चेतावनी दिए । बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माणको योजना अघि बढे पनि त्यो कामले गति नलिएको बारे स्थलगत अनुगमकनका लागि मुख्यमन्त्री आचार्य पुगे थिए ।

उनले निर्माण व्यवसायीलाई समयमा काम सम्पन्न गर्न निर्देशन समेत दिए । ‘निर्माण व्यवसायीको आफ्नो ईज्जत र प्रतिष्ठा बचाउनका निमित्त पनि यो काम समयमा सम्पन्न गर्नुपर्छ’ उनले भने, ‘काम नगरेका कारण सरकारले निर्माण व्यवसायीलाई कालोसूचीमा राख्छ । त्यसैले समयमा काम सक्नुस ।’

घोराही उपमहानगरपालिका –१३ मा रहेको बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माणको योजना सञ्चालनमा छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन डिभिजन कार्यालयबाट ६ करोड ६ लाखमा निर्माणको अघि बढेको हो । नागाअर्जुन–शिव निर्मल जेभी सल्यानले जिम्मेवारी पाएको थियो । बहुउदेश्यीय पार्क अन्तर्गत दहको मुल गेट, ड्यामलगायतका पूर्वाधार निर्माणको काम गर्नेगरी सम्झौता गरिएको थियो । तर, निर्माण व्यवसायीले प्रभावकारी रुपमा काम अघि बढाउन नसकेको गुनासो आएपछी मुख्यमन्त्री र विभागिय मन्त्रीले यस बारेमा गम्भिर चासो दिएका हुन् ।

ब्रहाक्षेत्र संरक्षण सम्बर्धन तथा धार्मिक समितिका अध्यक्ष देवबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री प्रचण्डविक्रम न्यौपानेले सम्वोधन गर्दै पर्यटकीय क्षेत्रलाई पूर्वाधारमा सम्पन्न बनाउनेगरी सरकारले योजना अघि बढाएको बताए । पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले बृहत योजना अघि सारेकाले त्यसमा नागरिक तहबाट सहयोग आवश्यक पर्ने धारणा राखे ।

लुम्बिनी प्रदेशलाई पर्यटन सर्किट निर्माण गरेर एकआपसमा जोड्ने संकल्प प्रदेश सरकारले लिएको छ । त्यही संकल्प अन्तर्गत पर्यटन पूर्वाधारको निर्माण गरिन थालिएको छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलमा पुगाउने र धेरै दिनको भ्रमण गराउने गरी पर्यटन सर्किटको अवधारणा अघि सारिएको हो । प्रदेश सरकारले यस बर्ष घुमौं बर्दियाको अभियान पनि चलाएको छ ।

प्रतिक्रिया