Listen LIVE

राजनीतिका साथै सिलाइ पेशामा परियार

दाङ : बबई गाउँपालिका सदस्य नारायण परियार राजनीतिसँगै सिलाइ कटाइ पेसा अँगाल्दै आएका छन् । बबई गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय परियारले आम्दानीको स्रोतका रूपमा पुर्ख्यौली पेशालाई निरन्तरता दिएका हुन् । 

२०७८ सालमा बबई गाउँपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित भएपछि राजनीतिमा जनताकै सेवामा उनी जोडिए । अनेरास्ववियुदेखि राजनीति शुरु गरेका नारायणले पुर्ख्यौली पेशा भने यथावत् राख्ने बताए । 

अङ्ग्रेजी विषयमा शिक्षा शास्त्रमा स्नातक उत्तीर्ण गरेका परियारले स्थानीय संस्थागत विद्यालयमा पाँच वर्षसम्म अध्यापन गरेका थिए । वैदेशिक रोजगारीमा तीन वर्ष काम गरी स्वदेश फर्किएका उनले २०७७ सालदेखि सक्रिय राजनीतिमा छन् । नेकपा (एमाले) बबई गाउँपालिका वडा ४ का वडा कमिटी अध्यक्षसमेत रहेका परियार राजनीतिलाई पेशा भन्दा सेवाको रूपमा आफूले लिएको बताए ।

उनले भने, “मैले पाँच वर्ष पढाएँ, तर साँझ–बिहान सिलाइ–कटाइको काम गरेँ । अहिले कार्यपालिका सदस्य एवम् विधायन समितिको संयोजक छु, त्यो पेशालाई यथावत् नै राखेको छु ।” २०६५ सालदेखि सिलाइ–कटाइ शुरु गरेका नारायणले गाउँमै मोडेल टेलर्स चलाउँछन् ।

प्रतिक्रिया