नरैनापुर (बाँके) : स्थानीय तहबीच असल अभ्यासको आदानप्रदान, प्रशासनिक क्षमता अभिवृद्धि तथा सेवा प्रवाहमा सुधार गर्ने उद्देश्यले रोल्पाको सुनिल स्मृति गाउँपालिकाको टोलीले बाँकेको नरैनापुर गाउँपालिकाको स्थलगत अवलोकन तथा अन्तरपालिका सिकाइ भ्रमण गरेको छ ।
सुनिल स्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नगेन्द्रप्रसाद रिजालको नेतृत्वमा आएको टोलीले नरैनापुर गाउँपालिकाका विभिन्न शाखा, प्रशासनिक कार्यसम्पादन, सेवा प्रवाहको अवस्था तथा नेपाल–भारत सीमावर्ती क्षेत्रको अवलोकन गरेको हो । भ्रमणका क्रममा टोलीले नरैनापुरको भौगोलिक, सामाजिक तथा आर्थिक अवस्था, विकासका प्राथमिकता, स्थानीय सम्भावना र चुनौतीबारे जानकारी लिएको थियो ।
नरैनापुर गाउँपालिकामा पुगेको टोलीलाई प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले स्वागत गर्नुभएको थियो । त्यस अवसरमा दुवै पालिकाका कर्मचारीबीच स्थानीय सरकारको कार्यसम्पादन, प्रशासनिक व्यवस्थापन, आर्थिक अनुशासन, बजेट कार्यान्वयन, सेवा प्रवाह तथा विकास निर्माणका अनुभव आदानप्रदान गरिएको थियो ।
कार्यक्रममा नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वली र लेखा अधिकृत प्रकाश अधिकारीले गाउँपालिकाको भौगोलिक अवस्था, सामाजिक तथा आर्थिक परिवेश, विकासका प्राथमिकता र सञ्चालनमा रहेका कार्यक्रमबारे जानकारी गराएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत वलीले स्थानीय तहको विकासका लागि उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालन, शाखाबीच समन्वय र नागरिकमैत्री सेवा प्रवाह आवश्यक रहेको बताए । फरक भौगोलिक तथा सामाजिक परिवेश भएका स्थानीय तहबीच अनुभव आदानप्रदान गर्दा एकअर्काका सफल अभ्यास अनुकरण गर्न र कार्यसम्पादनमा देखिएका कमजोरी सुधार गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
त्यसैगरी, लेखा अधिकृत प्रकाश अधिकारीले स्थानीय तहमा बजेटको प्रभावकारी कार्यान्वयन, आर्थिक पारदर्शिता, वित्तीय अनुशासन तथा योजनाको नियमित अनुगमनको महत्वबारे जानकारी गराए । नागरिकको आवश्यकता र प्राथमिकताका आधारमा बजेट तथा योजना कार्यान्वयन गर्न सके विकास निर्माण र सेवा प्रवाहको प्रभावकारिता बढ्ने उनले बताए ।
भ्रमण टोलीमा प्रमुख प्रशासकीय अधिकृत रिजाल, वरिष्ठ लेखा अधिकृत मधुसुदन गैरे, स्वास्थ्य संयोजक मोतिम आलम, नायब सुब्बा ऋषिकेश केसीलगायत सहभागी हुनुहुन्थ्यो । टोलीले सुनिल स्मृति गाउँपालिकामा पर्यटन प्रवद्र्धन, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र स्थानीय सम्भावनालाई आर्थिक गतिविधिसँग जोड्न भइरहेका प्रयासबारे पनि जानकारी गराएको थियो ।
भ्रमणका क्रममा सुनिल स्मृति गाउँपालिकाको टोलीले नरैनापुरमा रहेका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्नुका साथै नेपाल–भारत सीमावर्ती क्षेत्रको भौगोलिक अवस्था, स्थानीय जनजीवन, आवागमन र विकासका सम्भावनाबारे स्थलगत अध्ययन गरेको थियो । नरैनापुरको धार्मिक, सांस्कृतिक तथा भौगोलिक विशेषतालाई पर्यटन र स्थानीय आर्थिक गतिविधिसँग जोड्न सकिने सम्भावनाबारे समेत छलफल भएको थियो ।
सुनिल स्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालले भ्रमणबाट प्राप्त अनुभव र जानकारीले आफ्नो पालिकाको विकास योजना निर्माण तथा कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । अन्य स्थानीय तहका कामकारबाही नजिकबाट बुझ्ने, सफल अभ्यास सिक्ने र आफ्नो पालिकामा उपयोगी देखिएका अभ्यास कार्यान्वयन गर्ने उद्देश्यले भ्रमण गरिएको उनले बताए ।
त्यसैगरी, वरिष्ठ लेखा अधिकृत मधुसुदन गैरेले अन्तरपालिका भ्रमणले प्रशासनिक तथा आर्थिक व्यवस्थापनका व्यावहारिक अभ्यास बुझ्न सहयोग पुगेको बताए । स्थानीय तहले आफ्नो आवश्यकता र उपलब्ध स्रोतसाधनका आधारमा योजना तथा बजेट व्यवस्थापन गर्दा अन्य पालिकाका अनुभव उपयोगी हुने उनको भनाइ थियो ।
स्थानीय तहबीच हुने यस्ता अध्ययन तथा अनुभव आदानप्रदानले प्रशासनिक क्षमता अभिवृद्धि गर्नुका साथै सेवा प्रवाहलाई प्रभावकारी बनाउन र विकासका नयाँ सम्भावना पहिचान गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । भौगोलिक तथा सामाजिक अवस्था फरक भए पनि स्थानीय सरकारका साझा चुनौती समाधान गर्न एकअर्काका असल अभ्यासबाट सिक्ने र त्यसलाई व्यवहारमा लागू गर्ने प्रयास महत्वपूर्ण मानिन्छ ।
सुनिल स्मृति गाउँपालिकाको टोली भ्रमण तथा अध्ययन सम्पन्न गरी आफ्नो पालिका फर्किएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार