नेपालगञ्ज : नेपालगञ्जमा अब खेलाडीले खेल्न र प्रशिक्षण गर्न पाउने भएका छन् । भौतिक पूर्वाधार निर्माणको बहनामा राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले करिब ६ वर्ष देखि नेपालगञ्ज रङ्गशालामा खेलाडीहरूलाई प्रशिक्षणमा रोक लगाएको थियो । राखेपले सचिवस्तरीय निर्णय गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
खेलाडीहरूले नेपालगञ्ज रङ्गशालामा प्रशिक्षण र खेल्न नपाएपछि त्यसको विरोध हुँदै आएको थियो । बाँके जिल्ला फुटबल सङ्घले फुटबलका गतिविधि आयोजना गर्न नपाएको भन्दै विरोधका कार्यक्रम समेत गरेको थियो ।
गत कात्तिक २६ गते सचिवस्तरीय निर्णय गरी अहिलेसम्म लगाउँदै आएको प्रतिबन्ध हटाइएको हो । तर यसको जानकारी मध्य पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशलाई मङ्सिर ११ गते मात्र प्राप्त भएको छ ।
खेलकुद परिषद्ले रङ्गशालामा सेन्थेटिक ट्र्याक निर्माणमा देखिएका गल्तीहरूलाई समेत यथाशक्य चाँडो सच्याउन भनेको छ । उत्तरतर्फको डी एरियामा पानी जम्ने र लेभलसमेत नमिलेको भन्दै पञ्चकन्यार साइनोकोट्स जेभी ललितपुरलाई लिखितरूपमै पत्राचार गरेको छ ।
वर्षौ पछि खेलाडीले नेपालगञ्ज रङ्गशाला प्रयोग गर्न पाउनु खुसी कुरा भएको बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले बताए । उनले भने,‘भौतिक पूर्वाधार निर्माण नाममा नेपालगञ्ज रङ्गशालामा खेलाडीले खेल्न पाएका थिएनन् । राज्यले अर्बौँ रुपैयाँ लगानी गरेर निर्माण गरेको संरचना कर्मचारीको लापरबाहीले प्रयोगविहीन भएको थियो । राखेपले अहिले गरेको निर्णय स्वागत योग्य छ । यसका लागि हामी राखेपलाई विशेष धन्यवाद दिन चाहन्छौँ ।’
नेपालगञ्ज रङ्गशालामा २०७६ सालमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न एक वर्ष अघि देखि नै नेपालगञ्ज रङ्गशालाको भौतिक पूर्वाधार निर्माण गर्ने भनेर खेलाडीलाई खेल्नबाट वञ्चित गरिएको थियो ।
पछिल्लो समय नेपालगञ्ज रङ्गशालामा एथलेटिक्सको सिन्थेटिक ट्र्याक निर्माणको काम भएका कारण मैदानमा खेलाडीले खेल्न पाएका थिएनन् । ट्र्याक निर्माण भएर पनि सरकारलाई हस्तान्तरण गर्न अघि नै बिग्रिएपछि रङ्गशालामा राष्ट्रिय खेलकुद परिषद्ले कसैलाई पनि खेल्न अनुमति दिएको थिएन ।