Listen LIVE

देशभित्रै नयाँ सम्भावनाको खोजी गर्नुपर्ने : मन्त्री भण्डारी

नेपालगञ्ज : नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशभित्रै नयाँ सम्भावनाको खोजी गर्नुपर्ने बताएका छन् । नेपालगञ्ज उद्योग बाणिज्य संघको ३२ र ३३औं साधारणसभालाई आज नेपालगञ्जमा सम्बोधन गर्दै मन्त्री भण्डारीले देशभित्र सम्भावनाका चाङ्ग रहेको बताए । चुनौतीलाई सम्भावनामा बदल्नुपर्ने बेला आएको उनको भनाई छ । उद्योग व्यवसायले नयाँ मोड खोजिरहेको भन्दै मन्त्री भण्डारीले अब नयाँ ढंगबाट सोच्नुपर्नेमा जोड दिए । 

उनले आयात प्रतिष्थापन गर्दै निर्यात प्रवर्द्धनमा सरकारको ध्यान केन्द्रित रहेको बताए । उत्पादन वृद्धि गर्दै निर्यात बढाउनु अहिलेको प्रमुख आवश्यकता रहेको मन्त्री भण्डारीको भनाई छ । बढ्दो व्यापार घाटा कम गर्दै जानुपर्ने मुख्य चुनौती रहेको उनको भनाई छ । उनले उद्योगी–व्यवसायीमा देखिएका निराशा चिर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य यही महिनाभित्र अगाडि बढ्ने समेत बताए । मन्त्री भण्डारीले तारबार र जमिन सम्याउने काम तत्काल सुरु हुने जानकारी दिए ।

साधारणसभाको उदघाटन शत्रमा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल, राष्ट्रिय सभा सदस्य युवराज शर्मा, प्रतिनिधिसभाका सांसद दीपा शर्मा, लुम्बिनी प्रदेशका सांसदद्वय कृष्णा केसी नमुना र मिना श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी लगायतको उपस्थिति थियो । 

उदघाटन शत्रमा नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुसाल, दाङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्मा, व्यवसायी ध्रुव दाहाल लगायतले साधारणसभा सफलताको शुभकामना ब्यक्त गरेका थिए । 

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा सम्पन्न भएको उदघाटन समारोहको सञ्चालन महासचिव भिम रानाभाटले गरेका थिए । अध्यक्ष धामी लगायत बक्ताहरुले नेपालगञ्जका व्यवसायीका कठिनाई, सीमा क्षेत्रमा व्यवसाय गरिरहँदा भोग्नुपरेका पीडा, नेपालगञ्जलाई राज्यले हेर्ने दृष्टिकोण, भन्सार नीति लगायतका विषयमा मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए । त्यस अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान एवम् पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया