Listen LIVE

नेपालगञ्जमा पनि मनाइयो दशौं राष्ट्रिय योग दिवस

नेपालगञ्ज : ‘स्वस्थ समाज समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नाराका साथ दशैं राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ 

मङ्गलवार नेपालगञ्जमा योग समिति नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास गाउँगाउँमा गर्न जरुरी रहेको बताए ।

उनले योगले शारीरिक तथा मानसिक रूपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले सरकारले यसलाई जोड दिएर राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको पनि स्पष्ट पारे ।

योग समिति नेपालका अध्यक्ष योग गुरु गिरिराज भट्टराईले शारीरिक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढ्दै गएको बताए । यसैकारण संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वमा अन्तर्राष्ट्रिय योग दिवसनै मनाउन सुरु गरिएको जानकारी दिएका थिए ।

योग व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास हो । आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरूलाई महत्त्व दिन्छ। तर योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण र आध्यात्मिकतामा महत्त्व दिँदै आएको योग गुरु भट्टराईले जानकारी दिएका थिए ।

कार्यक्रममा वरिष्ठ अर्थोपेडिक डाक्टर बिनोद थापा, डाक्टर श्याम सुन्दर यादव, योग समिति नेपालका उपाध्यक्ष निर्मला शाह, लोक माया सुबेदी “सुमित्रा”, सल्लाहकार जगदिश चन्द र मिन बहादुर मल्ल लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा योग समिति नेपालका ३४ वटा केन्द्र संयोजक र प्रतिनिधिहरुको सहभागितामा रहेको थियो ।

प्रतिक्रिया