नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री आदेशकुमार अग्रवालले नेपालगञ्जमा शङ्खधर साख्वाको शालिक निमाण गर्नका लागि प्रदेश सरकार सदैव सहयोगी रहेको बताएका छन् ।
नेपाल संवत् ११४५ को अवसरमा नेपालगञ्जमा आयोजना गरिएको एक कार्यक्रममा शनिबार बिहान मन्त्री अग्रवालले भने, “नेपालगञ्जमा शङ्खधर साख्वाको शालिक निर्माण गर्ने कुरा बारम्बार उठिरहेको छ, उहाँ नेपाल संवत्का प्रवर्तक हुनुहुन्छ साथै नेपाल सरकारले उहाँलाई राष्ट्रिय विभूति पनि घोषणा गरिसकेको अवस्थामा उहाँको शालिक निर्माण गर्न सबैले पहल गर्नुपर्छ ।”
“नेपालगञ्जमा रहेका विभिन्न चोकमध्ये एक चोकलाई शङ्खधर साख्वाको नाममा नामाकरण गरेर पूर्ण कदको शालिक निर्माण गरौँ, केही आवाज पनि उठ्दै आएका छन् ।” मन्त्री अग्रवालले भने, “शालिक निर्माणका लागि प्रदेश सरकार सहयोग गर्न तयार छ ।”
नेपाल संवत् ११४५ को अवसरमा नेवाः पुचः बाँके र नेवाः देयः देबू बाँकेले संयुक्त रुपमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा मोटरसाइकल र्याली कार्यक्रममा लुम्बिनी प्रदेश सभासदस्य मीना श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रजिअ खगेन्द्रप्रसाद रिजाल, राजनैतिक पार्टीका जिल्लास्थित प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायतले शुभकामना प्रदान गरेको नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र जोशीले जानकारी दिए ।
कार्यक्रमपश्चात् नेपालगञ्जमा मोटरसाइकल र्याली निकालिएको छ । गणेशमान चोकबाट सुरु गरिएको मोटरसाइकल र्याली ट्राफिक चोक, विद्युत रोडहुँदै त्रिभुवन चोक, गगनगन्ज, त्रिवेणी मोड, घरबारी टोल, न्यूरोड, सेतु बिकचोक, धम्बोझी हुँदै राँझा पुगेर समापन गरिने नेवाः देयः देबू नेपालगञ्ज उपमहानगर समितिका अध्यक्ष दीपेन्द्र कुमार जोशीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार