Listen LIVE

मानव बेचबिखन गम्भीर समस्या भएको मुख्यमन्त्री आचार्यको भनाई

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खुला सिमानाको सहज पहुँचलाई दुरुपयोग गर्दै मानव बेचबिखनका गिरोहहरू सक्रिय रहेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यस समस्याको समाधानका लागि दुई देशबिच विशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याए ।

सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन नियन्त्रणसम्बन्धी इन्डो–नेपाल क्षेत्रीय संवाद कार्यक्रमको लुम्बिनीमा सोमवार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा शिक्षा, चेतना र रोजगारीको अभावले पनि मानव बेचबिखनको समस्या देखिनु गम्भीर बिषय भएको बताए ।

उनले लुम्बिनी प्रदेशको भारतसँग लामो सिमाना मात्र होइन, गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध पनि छ भन्दै त्यसैले कतिपय समस्याहरू हामी छिमेकी मिलेर नै समाधान गर्न सक्छौं । तर मानव बेचबिखन नियन्त्रण तथा सुरक्षित आप्रवासन सुनिश्चित गर्न राष्ट्रस्तरीय नीति आवश्यक पर्छ भने ।

मुख्यमन्त्री आचार्यले भने, ‘‘दुबै देशले सिमानामा विशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता छ ।’’

प्रदेश सरकारले सुरक्षित आप्रवासनलाई प्रवद्र्धन गर्दै अवैध आप्रवासन तथा मानव बेचबिखन रोक्न विभिन्न कार्यक्रम अघि सारेको उनले बताए ।

मुख्यमन्त्री आचार्यले सचेतना अभियान सञ्चालन, सीपमूलक तालिम, सुरक्षित रोजगारीको प्रवद्र्धन तथा सीमा निगरानीलाई कडाइ गर्न प्रदेश सरकारले पहल गरिरहेको बताए ।

नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा संयन्त्रलाई सशक्त बनाउन र मानव बेचबिखनविरुद्ध दुवै देशले साझा रणनीति निर्माण गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड छ ।

बेस संस्थाका संस्थापक तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा नेपाल र भारतका नीति निर्माता, नागरिक समाज तथा सरोकारवालाको सहभागीतामा सुरक्षित आप्रवासन र मानव बेचबिखन रोकथामका रणनीति, लुम्बिनी प्रदेशमा आप्रवासन र मानव बेचबिखन नियन्त्रणको रणनीति विकासको बारेमा छलफल गरिएको थियो ।

प्रतिक्रिया