गुल्मी : आजभोलि गाउँघरमा बाँस तथा निगालोबाट निर्माण हुने सामाग्री डोको, नाङ्लो डाला, सुपा,मान्द्रा,थुन्से लगायतका सामग्री कमै मात्र देखिन्छन् । दिन प्रतिदिन गाउँशहरमा आधुनिक प्रविधिको माध्यमबाट निर्माण गरिएका सामाग्री प्रयोगमा आउँदा डोको बुन्ने चित्रे पेशा नै सङ्कटमा पुग्न थालेको छ ।
गुल्मीको मालिका गाउँपालिका वडा नम्बर–७ घमिर सिलादी बस्दै आएका कृष्ण बहादुर सुनार आफ्नो पुर्खाले गर्दै आएको डोको बुन्ने पेसालाई सिको गरी निरन्तरता दिँदै आएका छन् । सुनारले गाउँगाउँ पुगेर बाँस तथा निगालो मागेर किनेर डोको, नाङ्लो, सुपा, डाला आदि सामग्री निर्माण गर्दै आएका छन् ।
कृष्णबहादुर सुनारले बाँस र न्यालोबाट निर्माण गरेका सामाग्री गाउँघरमा बेचबिखन गरेर छोराछोरीको पढाई र घर खर्च चलाउँदै आएको बताउँछन् ।
गाउँघरमा पाइने तामे बाँस, गोपीबाँस, निगालोबाट डोको नाम्लो कार्को, चाल्न स्याउँलगायतका सजावटका सामान खाट, दराज आदि निर्माण गर्न सकिन्छ । बाँसको घाँस गाई वस्तुलाई खुवाउन प्रयोगमा आउँछ भने यसबाट माछा मार्ने ढडियासमेत निर्माण हुने गर्दछ ।
गाउँघरमा चोयाँबाट बुनिने डोकोमा घाँस, गाग्री, ढुङ्गा, गोबर बोक्न प्रयोगमा आउँछ । कृष्ण बहादुरको डोको बुन्ने पेसालाई उनकी श्रीमती मिना सुनारले पनि सघाउँदै आएको बताउँछन् ।
कृष्ण बहादुरले जस्तै पुर्खाले गरेको पेसालाई मालिका ७ सिलादीकै पोम बहादुर सुनारले सिको गर्दै आएका छन् । उनको लागि दिन कटाउने र घर खर्च चलाउने दरिलो माध्यम भएको छ ।
काटेको चोया भए दैनिक २ देखि ३ बटा डोका निर्माण गर्न सकिन्छ । निर्माण गरेका प्रति डोका २ सय ५० देखि ३ सयसम्म बिक्री हुने गर्दछन् । उनीहरूले बुनेका सामग्री घमिर, वाग्ला, मर्भुङ्ग, धुर्कोट, अर्जे लगायतका स्थानमा खपत हुने गर्दछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार