सुर्खेत : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले संसदमा दर्ता गराएको विभिन्न अध्यादेशहरू पास नहुने दाबी गरेका छन् । उनले ती अध्यादेशहरू आफूहरूलाई अस्वीकार्य भएकोले बहुमत नपुग्ने हुँदा पास नहुने दाबी गरे ।
पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत आएका अध्यक्ष प्रचण्डले मङ्गलवार प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संसद छलेर ल्याइएका अध्यादेशहरू पासै नहुने जिकिर गरे । जनता समाजवादी पार्टीसँग पनि छलफल भएकोले उसले पनि अध्यादेशको विपक्षमा मत जाहेर गर्ने उल्लेख गर्दै उनले भने, ‘अध्यादेश पास हुँदैन ।’
वर्तमान सरकारलाई दुई तिहाइको अहंकार नपाल्न सुझाव दिँदै अध्यक्ष प्रचण्डले बहुमतको बलमा पेलेर नजान पनि सचेत गराए । सरकारले बहुमतका आधारमा अध्यादेश ल्याएको आरोप लगाउँदै उनले पेलेर नजान पनि आग्रह गरे । यसैगरी सरकारले विकास बजेट पनि घटाउँदै जान लागेकोले त्यसो गरिए प्रतिपक्षका हैसियतले पार्टीले सशक्त प्रतिवाद गर्ने उनको भनाइ छ । अहिले आर्थिक सङ्कटमा सरकार फस्दै गएकोले विकास बजेट घटाउन लागेको पाइएको भन्दै उनले भने, ‘यदि विकास बजेट घटेमा प्रतिपक्ष सशक्त रूपमा प्रतिवाद गर्दछ ।’
यसैगरी उनले आफ्नो पार्टी सरकार ढाल्ने र नयाँ बनाउने खेलमा पनि नलाग्ने जानकारी दिए । उनले अहिलेको कांग्रेस र एमाले गठबन्धनको सरकार २०८४ पछि पनि जाओस् भन्ने शुभकामना दिँदै नेकपा माओवादी केन्द्र सरकार ढाल्ने र बनाउने पक्षमा नलाग्ने बरू जनतामाझ गएर सशक्त भएर प्रतिपक्ष बन्ने उल्लेख गरे । उनले अहिलेको सरकार ढाल्ने, नयाँ बनाउने वा नयाँ गठबन्धन गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पारे ।
वर्तमान सरकारले जनताको पक्षमा कामै गर्न नसक्ने दाबी गर्दै उनले बरु भ्रष्टाचार, विभेदलाई प्रोत्साहन गरेको आरोप लगाए । साथै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई झेलीको संज्ञा दिदैं एमालेको तुलनामा कांग्रेस केही बढी लोकतान्त्रिक भएको टिप्पणी गरे । साथै आगामी निर्वाचनमा माओवादी एक्लै चुनाव लड्ने पनि उनले बताए ।
अर्को प्रसँगमा उनले नेकपा एकीकृत समाजवादी र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीसँग पनि पार्टी एकीकरणवारे छलफल भइरहेको जानकारी दिए । अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका सम्वन्धमा धेरै पहिलेदेखि नै छलफल भइरहेको छ, एकीकरणको आधारहरू तयार हुँदैछन् भने । समाजवादी मोर्चामा यसबारेमा पनि बहस भइरहेको हुँदा आधारहरू तयार भएपछि एकीकरण हुने उनको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार