Listen LIVE

महिलाले नेतृत्व पाउनै कठिन छ : सभामुख घर्ती

नेपालगञ्ज डेस्क : लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राजनीतिक समावेशिताको सुनिश्चितता गरेको भए पनि सरकारमा महिला सहभागिता नहुनुले अझैपनि महिलाहरूलाई नेतृत्व पाउनमा कठिन रहेको बताए । 

पत्रकार महिलाका लागि मिडिया एड्भोकेसिले राजनीतिक रिपोर्टिङका विधि र अभ्यासबारे बुटवलमा राखेको तालिममा उनले यस्तो बताएका हुन् । उनले अझैपनि निर्णय गर्ने ठाउँमा महिलाहरू पुग्न नसक्नुले राजनीतिक लडाई अझै नसकिएको बताउँदै राजनीतिमा पत्रकार महिलाको सहभागिता बढाउँदै कलम चलाउनुपर्नेमा जोड दिए । 

सभामुख घर्ती मगरले नेतृत्व लिन सक्ने महिलालाई पुरुष नेताले नै ठाउँ छोडिदन सक्ने अवस्था नभएको, महिलाको अस्तित्व स्वीकार गर्न नसक्ने दल का कारण महिलाको नेतृत्व आउन नसकेको जिकिर गरे । उनले पत्रकार महिलाहरू अवसर नपाएका महिलाले अरू महिलाका लागि प्रयास नगरेसम्म महिला अधिकारका कुरा गर्नु व्यर्थ हुने बताउँदै पुरुष नेतृत्व प्रति विश्वास गर्ने परम्परा रहेकाले महिलाको नेतृत्व अगाडी आउन नसकेकोले राजनीतिमा कलम चलाउन सक्ने पत्रकार महिला बढाउनुपर्ने बताए । 

बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रीदेवी अर्यालले महिलालाई आर्थिक रूपमा सक्षम नबनाए महिलाले आफ्ना अधिकार प्राप्त गर्न नसकिने बताएकी छन् । उनले संविधानमा उल्लेखित भएका अधिकार प्राप्त गर्न वा उपयोग गर्न महिलालाई आर्थिक रूपमा सक्षम बनाउन पर्ने बताएकी हुन् । अर्यालले बुटवल उपमहानगरपालिकाले महिलामाथि हुने सबै खालका असमानताको अन्त्य गर्ने लक्ष्य लिएको र सोही अनुसार नै काम अगाडि बढेको बताइन् । उनले भनिन, “राज्यका विभिन्न निकायमा रहेका महिलाहरूले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पुरा गरी महिलाहरू सक्षम छन् भन्ने प्रमाणित गर्दै अगाडि बढ्नुपर्ने भएकाले महिलाले नेतृत्व गर्न सक्दैनौ भन्ने पृतिसत्तामक सोचाइ हटाउनु पर्दछ ।“

प्रमुख प्रशिक्षक डा महेन्द्र विष्ट, प्रशिक्षक मिडिया एड्भोकेसि ग्रुप संस्थापक अध्यक्ष बबिता बस्नेत, पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, सञ्चारीका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले बोल्दै हरेक क्षेत्रमा पुरुषहरूको दबदबा रहेको, महिलाहरू कोटामा मात्रै भन्ने महिलाहरूले हिम्मत गरेर चुनावमा आउन नसकेको, पुरुषलाई नै नेतृत्वमा देख्न चाहेको बताएका थिए । 

महिलाहरूको हक हितका लागि नेतृत्वतहमा पुगेका महिलाहरूले आफ्नो जिम्मेवारीमा रही अधिकार र महिलाका मुद्दाका विषयमा एकरुपता कायम गरी सबैले काम गर्नुपर्नेमा जोड दिएका थिए । देशको कार्यकारी प्रधानमन्त्री भएर काम गर्न सक्ने क्षमता महिलाहरूमा रहेको उल्लेख गर्दै त्यसका लागि आफूहरू पत्रकार महिला अब्बल भएर अगाडि आउन पर्ने बताएका थिए । 

कार्यक्रममा पत्रकार महासङ्घ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसी, रासस लुम्बिनी प्रदेशका प्रमुख भरत केसी, सभामुखका प्रेस संयोजक शेरबहादुर केसी, बुटवल उपमहानगरका उपनिर्देशक दामोदर ज्ञवाली लगायतले राजनीतिक रिपोर्टिङबारेमा सुझाव दिएका दिए ।

प्रतिक्रिया