Listen LIVE

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँछौँ : मुख्यमन्त्री आचार्य

रुपन्देही : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी र निजी अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार सेवालाई प्रभावकारी बनाउनेतर्फ प्रदेश सरकार लागेको बताएका छन् । 

नेपाल औषधी व्यवसायी सङ्घ रुपन्देही शाखाले छैटौँ स्थापना दिवसका अवसरमा आयोजना गरेको सम्मान तथा औषधी व्यवसायीको क्षमता अभिवृद्धि तालिममा उनले सरकारी अस्पतालसँगै निजी क्षेत्रका अस्पताललाई समेत कानुनी दायरामा ल्याएर सेवा प्रवाहलाई चुस्त बनाउने बताए । 

भ्रष्टाचार न्यूनीकरणमा समेत छोटो समयमा उपलब्धिमूलक काम गर्न सफल भएको दाबी गर्दै उनले आचारसंहिता पालना गर्न निर्मम भएर लागेको बताए । पूर्वमुख्यमन्त्रीलगायत सुविधा कटाउने अभियानमा केही चुनौती देखिए पनि यो केही हदसम्म सफल भएको उनले दाबी गरे । “नियत सही भए सुधार गर्न सकिन्छ,” उनले भने ।

बुटवललाई स्वास्थ्य हब बनाउन, आर्थिक रूपमा समृद्ध बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ आयाम थप्ने मुख्यमन्त्री आचार्यको भनाइ छ । प्रादेशिक अस्पतालको भवन निर्माण गर्न चालु आर्थिक वर्षमा एक अर्ब ८० करोड बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले सबै हिसाबले अस्पतालको पूर्वाधार विकास गर्न उच्च प्राथमिकतामा राखेको उनले बताए । 

मुख्यमन्त्री आचार्यले हरेक व्यवसायलाई पारदर्शी बनाउन जरुरी रहेको धारणा व्यक्त गरे । औषधी व्यवसायको नाममा हुने लागुऔषधको कारोबार र औषधी विभागले स्वीकृति नदिएका औषधीको बिक्रीवितरणमा कडाइ गरिने उनले बताए । 

कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले स्वास्थ्य क्षेत्र संवेदनशील भएको हँुदा यसमा लागेका व्यवसायी विशेष चनाखो हुनुपर्ने बताए । मापदण्डमा रहेर काम गर्दा कुनै समस्या नहुने उनले बताए ।

प्रतिक्रिया