Listen LIVE

हवाई दुर्घटनाले नेपाली नियामक निकाय असफल देखिए : सांसद गौतम

काठमाण्डौ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले निरन्तर भइरहेको हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखिएको बताएकी छन्।

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताएकी हुन्। उनले हवाई दुर्घटनाको विषय छैटौँपटक संसद्मा विषय उठान भए पनि सरकारले अहिलेसम्म सुनुवाइ नगरेको बताइन्। उनले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको भन्दै तत्काल सरकारले समाधान गर्न आवश्यक रहेको बताइन्।

उनले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय छुट्याउन आवश्यक रहेको भन्दै तत्काल उक्त विधेयक ल्याउन माग गरिन्।  उनले सरकारमा पर्यटनमन्त्री पटक–पटक फेरिए पनि उक्त विधेयक संसद्मा आउन नसकेको बताइन्।

उनले यती एयरलाइन्स दुर्घटनाको अडियो सार्वजनिक भएको भन्दै उक्त अडियोबाट प्रष्टसँग लापरबाही भएको थाहा हुने बताइन्। उनले नियामक निकायको नियमन फेल भएकै कारण ईयुको कालोसूचीमा पर्नु, आइकाओ अडिटमा कम नम्बर दिएको दाबी गरिन्। उनले हवाई सुरक्षाको निम्ति प्राविधिक रूपमा गर्नुपर्ने खर्च सरकारले नगर्दा पनि हवाई यात्रा असुरक्षित बन्दै गएको उल्लेख गरिन्।

सांसद गौतमले भनिन्‚ ‘हवाई दुर्घनाको विषय आजसहित छैटौँपटक उठाएकी छु। सरकारमा पर्यटनमन्त्री पटक–पटक फेरिनु भयो तर विधेयक संसद्मा आएन। यती एयरलाइन्स दुर्घटनाको अडियो सार्वजनिक भएको छ। त्यसमा प्रष्टसँग सुन्न सकिन्छ। लापरबाही भएको छ। हवाई यात्रामा कति यात्रुले ज्यान गुमाउनुपर्ने हो। नेपालको नियामक निकायको नियमन फेल भएको प्रष्ट छ। नेपालको हवाई सुरक्षाको निम्ति प्राविधिक रुपमा गर्नुपर्ने खर्च सरकारले गरिरहेको छैन।’

प्रतिक्रिया