दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको विकासका लागि तथ्य र प्रमाणमा आधारित महत्त्वपूर्ण योजनालाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन दिएका छन् ।
प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको आकाङ्क्क्षा पूरा गर्न प्रदेश योजना आयोगले तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन निर्देशन दिए ।
‘पहिलो आवधिक योजनाको जगमा प्रदेश उभिएको छ । अब हामी दोस्रो आवधिक योजना निर्माणको अन्तिम चरणमा छौँ’ उनले भने, ‘दोस्रो आवधिक योजनालाई पूर्णता दिन यहाँहरूको भूमिका प्रदेशले चाहेको छ ।’ प्रदेशको भाग्य भविष्य रच्ने जिम्मेवारी योजना आयोगको रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन आग्रह गरे ।
उपाध्यक्ष र सदस्यको शपथ
नव नियुक्त प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल र सदस्यहरू डा. सुदनकुमार वली, भुवन चौधरी र शान्तादेवी ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा उनीहरूले सोमवार शपथ लिएका हुन् ।
मुख्यमन्त्री आचार्यले उपाध्यक्ष डा. डिल्लीराज अर्याललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । उपाध्यक्ष अर्यालले सदस्य डा. सुदनकुमार वली, भुवन चौधरी र शान्तादेवी ढकाललाई शपथ ग्रहण गराए ।
प्रदेश योजना अयोग गठन तथा कार्य सञ्चालन आदेश २०८० को दफा १६ बमोजिम उपाध्यक्ष तथा सदस्यले आफ्नो कार्यभार सम्हाल्नुअघि अनुसूची २ बमोजिम ढाँचामा उपाध्यक्षले अध्यक्षसमक्ष र सदस्यहरूले उपाध्यक्षसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । सोमवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार