Listen LIVE

कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : नेता कोइराला

दाङ : नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्ने बताएका छन् । कांग्रेस दाङले बिहीबार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै  पूर्वमहामन्त्री कोइरालाले कांग्रेसलाई सङ्गठित, सशक्त र चलाएमान बनाउनका लागि युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताए ।

४० वर्ष मुनिका एउटा पनि युवा पार्टीको केन्द्रीय सदस्य नभएको भन्दै नेता कोइरालाले पार्टीमा युवा आर्कषण बढाउन आवश्यक रहेको बताए । त्यसका लागि पार्टीको विधान संशोधन गरेर भए पनि युवालाई स्थान दिनुपर्ने बताउँदै कोइरालाले भने, ‘‘भाषणमा युवाका कुरा गरेर मात्र हुँदैन, व्यवहारमा युवाको प्रतिनिधित्व हुनुपर्छ । पार्टीले नेतृत्व तहमा मात्र होइन सरकारमा पनि युवा प्रतिनिधित्व बढाउनका लागि ध्यान ध्यानदिनुपर्छ ।’’

युवा उत्पादन हुने पार्टीका भातृ सङ्गठन नेपाल विद्यार्थी संघ, तरुण दललगायतलाई क्रियाशिल बनाउँदै समयमै निर्वाचन हुने वातावरण बनाउन आवश्यक रहेको बताए । पार्टीका प्रमुख भातृ सङ्गठनहरुमै वर्षौदेखि महाधिवेशन नहुँदा सङ्गठन क्रियाशिल नहुने र युवाहरु नेतृत्वमा आउनका लागि ठाउँ समेत नभएकाले भएकाले भातृ संघ सङ्गठनहरुको समयमै निर्वाचन गराउन पार्टी नेतृत्वले ध्यानदिनुपर्ने बताए ।

पार्टी सभापति शेरबहादुर देउवा अब नेतृत्व हस्तान्तरण गर्ने सोचमा रहेकाले १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसले सशक्त र सक्षम नेतृत्व ल्याउन नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताए । त्यसका लागि पार्टीका नेता तथा कार्यकर्ताहरु एक ढिक्का भएर व्यक्तिभन्दा पनि पार्टीलाई नेतृत्व गर्न सक्ने नेतृत्व चयनमा ध्यानदिनुपर्ने बताएका थिए ।

देशको समृद्धिका लागि नेपाली कांग्रेसको विकल्प नरहेको भन्दै उनले आगामी दिनमा पनि कांग्रेसलाई सशक्त, लोकप्रिय र ठुलो पार्टी बनाउनका लागि नेता तथा कार्यकर्ताहरुमा एकता आवश्यक रहेको बताए । पार्टीको महाधिवेशनका क्रममा भएका गुटहरु महाधिवेशन सकिएसँगै सकिनुपर्ने भन्दै उनले पार्टीमा गुटगत गर्दा कमजोर बन्ने बताए । त्यसका लागि नेतृत्वकर्ताले व्यक्तिगत लोभबाट माथि उठेर देश, जनता र पार्टीका लागि सोच्नुपर्ने बताए ।

अहिलेको सत्ता गठबन्धन बाध्यात्मक परिस्थितिमा बनेको भन्दै यसबाट कोही पनि पछि हट्न नसक्ने बताए । उनले मुलुकको राजनीतिक स्थायित्वका लागि वर्तमान सत्ता गठबन्धन बनेको बताए । मुलुक सधैभरी अस्थिरताको भुमरीमा फसिरहने परिस्थिति देखा परेपछि त्यसबाट बचाएर देश र जनताको समृद्धिका लागि काम गर्ने गरी कांग्रेस–एमालेको गठवन्धन तयार भएको बताए ।

प्रतिक्रिया