हुम्ला : नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको सुनखानीमा स्थापना गरिएको सिमा सुरक्षा प्रहरी चौकी छ महिनाका लागि बन्द गरिएको छ । अत्याधिक चिसोको कारण चौकीमा प्रहरीलाई बस्न खाना समस्या हुने भएपछि कातिक १५ गतेबाट बन्द गरिएको प्रहरी सदरमुकाम सिमकोटमा फर्किएका हुन् ।
आगामी वैशाख १५ गतेसम्मका लागि प्रहरी चौकीमा ताला लगाएर प्रहरी जिल्ला प्रहरी कार्यालयमा फिर्ता भएको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताए । चिसो अत्याधिक हने र खाना बस्नको समस्या हुने भएपछि कात्तिक १५ गतेबाट लिमीको सुनखानी प्रहरी चौकी बन्द गरिएको हो ।
उनले चौकीमा राखेर प्रहरीलाई समस्यामा पार्नुभन्दा जिल्लामै गएको राम्रो भएको बताए । चौकीमा रहेका १३ जना प्रहरीहरु सदरमुकाम फर्केपछि चौकी सुनसान देखिने गरेको छ ।
यस्तै, बन्द भएको चौकी नजिक जङ्गली जनावरहरु आउँछन् । प्रहरी चौकी नजिक कुनै बस्तीहरु पनि छैनन् । लिमीका हल्जी र जाङ गाउँको बिचमा चौकी छ । प्रहरीलाई रासन पानीको व्यवस्था गर्न तिनै गाउँमा जानुपर्ने हुन्छ । अत्याधिक चिसो हुने भएको कारण प्रहरीलाई बस्न कठिन हुने देखिएपछि चौकी बन्द गरेर प्रहरीलाई जिल्लामा फिर्ता बोलाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अर्को कुरा चौकीमा कुनै उजुरीहरु पनि पर्ने गरेका छैनन् । अब जिल्लामा फिर्ता भएका प्रहरी आगामी वैशाख महिनामा लिमी फिर्ता हुनेछ । वैशाखमा प्रहरी चौकीमा पुगेर कार्यालय सञ्चालन गर्ने भएपनि खासै उजुरी पर्ने गरेको छैन । सो क्षेत्रमा हालसम्म सिमा सुरक्षाका कुनै घटना समेत भएका छैनन् ।
यसअघि हिल्सामा रहेको प्रहरी चौकी पनि यसरी नै हिउँदको समयमा बन्द गरेर त्यहाँको जनशक्तिलाई मुचु प्रहरी चौकीमा सार्ने गरिएको भएपनि हिल्सामा सशस्त्र प्रहरी बस्न थालेपछि भने प्रहरी पनि हिउँदमा हिल्सामै बस्न थालेको छ ।