Listen LIVE

अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर

सुर्खेत : पार्वती गौतम शारीरिक रूपमा अपाङ्ग छिन् । उनको एउटा खुट्टाले काम गर्दैन । ४३ वर्षीया गौतमले जीवनमा धेरै सङ्घर्ष र दुःख गरिन् । पार्वती अहिले सफल उद्यमी भएकी छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ मा व्यवसाय सञ्चालन गरिरहेकी उनी धेरैका लागि प्रेरणाको स्रोत बनेकी छन् ।  

आमा मनमाया र बुबा देवनारायणको कोखबाट वि.सं.२०३८ साल भदौ १ गते काभ्रेपलान्चोकमा जन्मिएकी उनी जन्मजात अपाङ्गता हुन् । उनको बाल्यकाल गाउँमै बित्यो । सानैदेखि दुःखमा हुर्किएकी पार्वतीले कक्षा पाँचसम्म मात्रै अध्ययन गर्न पाइन् । शारीरिक अपाङ्गता भएकै कारण उनले पढ्न पाइनन् । विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्ने अवस्था थियो । त्यतिबेला अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री उपलब्ध थिएन । 

“सानोमा धेरै दुःख पाइयो,” उनी भन्छिन् , “मेरो पढाइप्रति कसैले चासो दिने थिएनन्, सबैले अपाङ्गता भएको व्यक्ति पढ्न सक्दैन भन्थे तर मैले जसोतसो कक्षा पाँचसम्म पढेँ ।” गौतमको परिवार बसाइँ सरेर वि.सं.२०५२ सालमा काठमाण्डौ गयो । पार्वतीका बुबाको सरकारी जागिर थियो तर एक जनाको जागिरले घरखर्च चलाउन कठिन हुन्थ्यो । आमाको सहयोगमा उनले सिलाइको काम सिकिन् । विवाह नगर्ने र आफ्नो सिलाइसम्बन्धी सीपले जीविका चलाउने सोँच बनाएकी थिइन् । 

सिलाइको कामबाट आम्दानी गर्दासमेत समाजले उनको कामलाई प्रशंसाभन्दा गलत नजरले हेर्ने गर्दथे । “पढ्छुभन्दा घरपरिवारले नमान्ने, केही काम गरेर खान्छुभन्दा समाजले नपत्याउने, मैले यो समाजका लागि केही गर्न सक्छु भन्ने सोच हुँदाहुँदै अपाङ्गताप्रति हेर्ने गलत दृष्टिकोणका कारण धेरै सङ्घर्ष र पीडादायी जीवन बाँच्नुपर्यो,” उनले विगत सुनाइन् । जब सुर्खेतका योगेन्द्र पुरीसँग उनले विवाह गरिन् । त्यसपछि एकाएक उनको जीवनले नयाँ मोड लियो । अनाथलयमा हुर्किएकी पुरीसँग विवाह गरेपछि एक्लै सङ्घर्ष गरिरहेका पार्वतीले श्रीमानको सहयोग पाइन् । 

पार्वती र उनका श्रीमान् सुर्खेत आए । दुवै अपाङ्गता भएका व्यक्ति भएपनि उनस्हरूमा केही गर्न सक्छौँ भन्ने विश्वास कायम थियो । उनीहरूसँग न त कुनै सम्पत्ति थियो, न त बस्ने ठाउँ । उनीहरूले जीवनदेखि हार खानु भएन । पार्वतीले जब अपाङ्गता परिचयपत्र पाइन् । अनि केही सङ्घसंस्थाहरूको सहयोगमा उद्यमशीलता सम्बन्धी सीप सिकिन् । उनले सिलाइदेखि मम बनाउने र पुष्टकारी चकलेट बनाउने जस्ता सीप सिकिन् । त्यसपछि व्यवसाय सञ्चालन गर्ने योजना बनाइन् । योजनाअनुसार व्यवसाय गर्न पैसा थिएन । 

“सिकेको सीपअनुसार व्यवसाय गर्छु भनेर योजना बनाएँ तर मसँग व्यवसाय सुरु गर्ने पैसा थिएन, मैले सुर्खेतस्थित परिलक्षित संस्थाबाट सहयोग पाएँ,” उनले भनिन् । अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको परिलक्षित संस्थाले उनलाई आर्थिक सहयोग गरेपछि सिलाइसम्बन्धी व्यवसाय सुरु गरिन् । व्यवसायबाट आम्दानी हुन थाल्यो । पैसाको दुःखमा अभाव भोगेका उनीहरूको जीवनमा नयाँ खुशी र उमङ्ग आउन थाल्यो । त्यही व्यवसायको कमाइले उनीहरूले वीरेन्द्रनगरमा घर बनाए । अहिले उनी मासिक ५० हजारभन्दा धेरै कमाउँछिन् । छोराछोरी पढाउने र घर चलाउनलाई कुनै समस्या छैन । 

उनले भनिन, “जीवनमा सङ्घर्ष गर्नुपर्दो रहेछ, सफलता प्राप्त गर्न चुनौतीलाई सामना गर्नुपर्दो रहेछ ।” उनी अहिले सिलाइको कामसँगै मम र आलु चिप्स उत्पादन गरिरहेकी छन् । पार्वतीले पुष्टकारी उद्योग सञ्चालन गर्ने योजना बनाइरहेकी छन् । त्यसका लागि उद्योग दर्ता गरिसकेकी छन् । “सुर्खेतमा अहिलेसम्म काहीँ पनि पुष्टकारी उत्पादन भएको छैन,” उनले भनिन, “मैले यसको उत्पादनका लागि उद्योग दर्ता गरिसकेको छु, सुर्खेतबाट उत्पादन गरेर कर्णालीभर पुष्टकारी पठाउने योजना बनाएको छु ।”

प्रतिक्रिया