नेपालगञ्ज : लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले विकासका निर्माणका काममा ढिलासुस्ती स्वीकार्य नहुने बताएका छन् ।
बाँकेको जानकी गाउँपालिका ४ छत्रपुर र खजुरा गाउँपालिका ४ चल्तुवास्थित किरण नालामा निर्माणाधिन पक्कि पुलको मङ्गलबार स्थलगत निरीक्षण गर्दै मन्त्री ढकालले पुल निर्माणमा हालसम्म बिलम्ब भए पनि अबका दिनमा तीव्र गतिमा काम अघि बढाउन निर्माण कम्पनीलाई निर्देशन दिए ।
मन्त्री ढकालले भने, ‘‘प्राविधिक समस्याको समाधान गरेर तत्काल छिटोभन्दा छिटो काम गर्नुहोस्, मन्त्रालयका तर्फबाट गर्नुपर्ने काममा सहजिकरण हामी गर्छौ ।’’
पुल निर्माणका लागि गाल्वा सिद्धार्थ दर्शन जेभीले २०७७ फागुन १९ गते पाँच करोड ३२ लाख रुपियाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । सम्झौताको समयअवधीसम्म जगको विवादका कारण पुल निर्माण अघि बढ्न सकेको छैन ।
लुम्बिनी प्रदेशको सडक पूर्वाधार विकास कार्यालय नेपालगञ्जले पुल निर्माणका लागि जमिन मुनी निर्माण गरिनुपर्ने पायल फाण्डेशनको काम गुणस्तरीय नभएको जनाएको छ । जसका कारण दुई वर्षदेखि पुल निर्माणको काम अघि बढ्न सकेको छैन । कंक्रिटको गुणस्तरमा आशङ्का भएपछि पुल निर्माण अघि बढ्न नसकेको हो ।
पुलका लागि निर्माण गरिएका ५० वटा पायलकै फाउण्डेशनमै समस्या देखिएको सडक पूर्वाधार कार्यालयले जनाएको छ । कार्यालयले पुलको सुरुवाती फाउण्डेशनमै समस्या देखिएपछि विज्ञ टोलीबाट समेत निरीक्षण गराएको छ ।
जानकी र खजुरा तथा बैजानाथ गाउँपालिकाका बासिन्दाको सहजताका लागि निर्माण सुरु गरिएको पुलको निर्माणमा ढिलाइ भएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । खजुरा ४ चल्तुवाका बुद्धी कुमारी थापाले मन्त्री ढकालसमक्ष तत्काल पुल निर्माण सम्पन्न हुने वातावरण बनाउन माग गरिन् ।
एमाले नेता भिम वलीका अनुसार मन्त्री ढकालले मङ्गलबार बाँकेमा प्रदेश सरकारको बजेटमा निर्माणाधिन विभिन्न पुल र सडकको स्थलगत निरीक्षण गरी जानकारी लिएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार