नेपालगञ्ज : भारतीय सिमानासँग जोडिएको बाँके जिल्लामा केही समययता विभिन्न प्रकारका लागूऔषधको ओसारपसार, सेवन र बिक्री बढ्दै गएपछि प्रहरीले “लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान–२०८१” सञ्चालन गरेको छ ।
लागूऔषधविरुद्धको सो अभियान अन्तर्गत प्रहरीले यहाँस्थित नेपाल भारत नाका जमुनाहामा विशेष सतर्कता अपनाउनुका साथै विभिन्न नाका, बसपार्क र सार्वजनिक स्थलमा प्रहरी परिचालन गरेर जाँचमा कडाइ सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले लागूऔषध नियन्त्रणका लागि चलाइएको विशेष अभियान अन्तर्गत तालिम प्राप्त कुकुरलाई परिचालन गरेर नेपालगञ्जस्थित विमानस्थल लगायतका स्थानका जाँच कडा पारिएको बताए ।
एक विशेष प्रहरी टोलीले तालिम प्राप्त कुकुरको माध्यमबाट नेपालगञ्जस्थित राँझा विमानस्थलमा चेकजाँच गरेको डिएसपी डाँगीले बताए । उनले कुकुर सहितको सो टोलीले विमानस्थलमा आवागमन गर्ने यात्रुको सामान जाँच गरेको जानकारी दिए ।
सोही प्रकारले तालिम प्राप्त कुकुरसहितको विशेष टोलीले नेपाल भारत नाकाको जमुनाहा र नेपालगन्ज बसपार्क क्षेत्रमा पनि लागूऔषध चेकजाँच गरेको प्रहरी प्रवक्ता डाँगीले बताए ।
नेपाल भारत खुला सिमानाकै कारण सीमापारि रुपईडिहा लगायतका स्थानबाट लागूऔषध ब्राउनसुगर र विभिन्न प्रकारका अन्य लागूऔषध सहजरुपमै नेपालमा भित्रिने भएकोले नियन्त्रणमा समस्या आएको विभिन्न कार्यक्रममा पटकपटक बताइने गरिएको छ ।
नेपाल प्रहरीले भारतीय प्रहरीलाई सीमापारी लागूऔषध बिक्रीमा कडाई गर्न पटकपटक आग्रह गर्दा सकारात्मक जवाफ दिँदै आएको भारतीय प्रहरीले सीमापारि खासै कडाइ गरेको देखिँदैन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार