Listen LIVE

टुक्रे योजनालाई निरुत्साहित गर्ने लुम्बिनी प्रदेशको रणनीति

नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी बजेटदेखि टुक्रे योजनालाई निरुत्साहित गर्ने रणनीति बनाएको बताए । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको नेपालगञ्जमा आयोजना गरिएको चौथो पूर्ण बैठकलाई बुधबार सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले टुक्रे र साना योजनालाई निरुत्साहित गर्दै ठूला र मझौला खालका योजनाहरुमा बजेट केन्द्रित गर्ने बताएका हुन् ।

मुख्यमन्त्री आचार्यले भने, “योजनाहरु छरेर होइन, परिणाममुखी बनाएर जाने सरकारले रणनीति बनाएको छ, यसमा पार्टीको पनि ध्यान जान आवश्यक छ  ।” उनले मझौला र ठुला योजना कार्यान्वयनमा सरकारले ध्यान दिने बताए ।  

आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम बनाउँदा संस्थागत प्रक्रियालाई प्राथमिकतामा राखिने बताए । योजना छनौंटमा देखिएको विकृति रोक्नकै लागि पाँच लाखभन्दा माथिका योजना प्रतिष्पर्धाबाट कार्यान्वयन गर्ने निर्णयमा सरकार पुगेको बताउँदै उनले हरेकखाले विकृतीहरु रोक्न सरकार निर्मम भएर अगाडि बढ्ने दाबी गरे ।

बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको प्राथमिकता, सञ्चालन भइरहेका कार्यक्रम र भावी योजनाबारे जानकारी गराएका थिए । सरकारले अघि सारेका गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयनलाई अघि बढाएको उनको भनाइ छ । 

मुख्यमन्त्री आचार्यले आफु सरकारको नेतृत्वमा पुगेपछि प्रदेश सरकारले गरेका काम, प्राथमिकता, भावि योजनासहितका बिषयहरु समेटिएको प्रतिवेदन पार्टीका प्रदेश इञ्चार्ज पद्मा अर्याल र पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेललाई बुझाएका थिए ।  

बुधबारनै अर्घाखाँची सम्पर्क मञ्च बाँकेले नेपालगञ्जमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सुशासनलाई पहिलो प्राथमिकता दिएको बताए ।

प्रतिक्रिया