नेपालगञ्ज : बाँकेमा किसानले उत्पादन गरेको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले खरिद गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिए पनि चाडपर्वका कारण खरिद प्रक्रिया ढिला भएकाले यही कात्तिक २० गतेबाट खरिद सुरु गरिने जानकारी दिए ।
उनका अनुसार ४० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ । प्रतिक्विन्टल मध्यम धान रु. तीन हजार पाँच सय ८० र मोटो धान रु. तीन हजार चार सय १० मा खरिद गर्न मूल्य निर्धारण गरिएको प्रमुख लामिछानेले बताए । उनका अनुसार किसानले आफ्नो वडा कार्यालयबाट सिफारिस र पहिचान खुल्ने नागरिकता लिएर आएमा धान खरिद गरिनेछ ।
यस वर्ष बाँकेमा एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन हुने आँकलन गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । सरकारले समयमै धानको मूल्य निर्धारण गरे पनि खरिद ढिला हुँदा चाडपर्वमा किसानले व्यापारीलाई सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएको बाँके डुडुवाका किसान कन्धइलाल यादवले बताए ।