Listen LIVE

वीरगञ्ज नाकाबाट धानचामलको आयात घट्यो

वीरगञ्ज : वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्षको दुई महिनामा धानचामलको आयात घटेको छ। चालू आवको भदौसम्म रु. ९६ करोड ३२ लाख ५६ हजारको रु. दुई करोड ६३ लाख ३४ हजार ७९० किलो धान आयात भएको छ।

गत आवको सोही अवधिमा रु. एक अर्ब ३१ करोड २९ लाख १० हजारको रु. तीन करोड ७९ लाख ५१ हजार ५६६ किलो धान आयात भएको थियो। गत आवको तुलनामा चालू आवको सोही अवधिमा धानको आयात ३०.६१ प्रतिशतले घटेको हो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवको तुलनामा चालू आवमा धान र चामलको आयातमा केही कमी आएको बताए। चालु आवको भदौ मसान्तसम्म कनिका आयातमा पनि कमी आएको छ। चालु आवको भदौ मसान्तसम्म रु. २२ करोड १७ लाख २८ हजारको १६ लाख ८८ हजार नौ सय किलो चामल तथा कनिका आयात भएको छ।

गत आवको सोही अवधिमा रु. २६ करोड पाँच लाख २७ हजारको २२ लाख तीन हजार नौ सय किलो चामल तथा कनिका आयात भएको थियो। गत आवको तुलनामा चालु आवको सोही अवधिमा २३.३७ प्रतिशतले चामल तथा कनिकाको आयात घटेको हो। चालु आवमा दुई महिनामा मकैको आयात पनि घटेको छ। भदौ मसान्तसम्म ६१ करोड २४ लाख ७८ हजारको एक करोड ५० लाख ३८ हजार किलो मकै आयात भएको छ।

गत आवको सोही अवधिमा रु. ६७ करोड ९७ लाख ६२ हजारको एक करोड ८६ लाख ९१ हजार ७१४ किलो मकै आयात भएको थियो। गत आवको तुलनामा चालू आवको सोही अवधिमा मकैको आयात १९.५५ प्रतिशतले घटेको हो।

प्रतिक्रिया