Listen LIVE

बर्दियामा मसुरो खेती प्रवर्द्धन गर्न बहुसरोकारवाला मञ्च गठन

बर्दिया : एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय, बर्दियाको आयोजनामा मसुरो खेतीको उत्पादन र बजारीकरण प्रवर्द्धनका लागि जिल्लास्तरिय बहुसरोकारवाला मञ्च गठन गरिएको छ।

कार्यालय प्रमुख सागर ढकालको अध्यक्षतामा सम्पन्न बैठकले मसुरो खेतीमा देखिएका चुनौतीहरूको समाधान, क्षेत्र विस्तार, र उत्पादन वृद्धि गर्न सहजीकरण गर्ने लक्ष्यसहित मञ्च गठन गरेको हो।

ढकालका अनुसार जिल्लाको ७५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ५ हजार ७५ हेक्टरदेखि ८ हजार ५ सय हेक्टर क्षेत्रमा मसुरो खेती हुँदै आएको छ। वार्षिक उत्पादन करिब ५ हजार ४ सय १५ मेट्रिक टन रहेको र प्रति हेक्टर उत्पादकत्व ०।९७ मेट्रिक टन रहेको तथ्यांक प्रस्तुत गर्दै उनले मसुरो खेती प्रवर्द्धनका लागि आधुनिक प्रविधि र सहजीकरण आवश्यक रहेको बताए।

बैठकमा किसानहरूले मसुरो खेतीमा भोगिरहेका समस्या र समाधानका उपायहरूबारे आफ्ना धारणा राखेका थिए। सरोकारवालाहरूले मसुरो खेतीलाई दिगो बनाउन सहकार्य र समन्वयमा जोड दिएका थिए । 

कार्यक्रममा वरिष्ठ बागवानी विकास अधिकृत रामप्रकाश यादवले स्वागत मन्तव्य राख्नुभएको थियो। बैठकले बीउ उत्पादक कृषक रामचन्द्र यादवको संयोजकत्वमा उक्त मञ्च गठन गरेको छ ।

प्रतिक्रिया