Listen LIVE

२०८४ को निर्वाचन अगावै संविधान संशोधन हुन्छ : महासचिव पोखरेल

विराटनगर : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी २०८४ को निर्वाचन अगावै संविधान संशोधनको काम सम्पन्न हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान संशोधनको गर्ने कुरा नेपालका सबै राजनीतिक दलहरूको सरोकारको विषय भएकाले संविधानको स्वीकार्यता थप वृद्धि गर्न संविधान संशोधन आवश्यक रहेको बताए । 

उनले मुलुकको राजनीतिक स्थायित्वलाई केन्द्रबिन्दुमा राखेर नेकपा एमाले र नेपाली कांग्रेस बीच सहकार्य भएको उल्लेख गर्दै संविधानको १० वर्षमा देखिएको सबल र दुर्वलपक्षको समिक्षागर्दै त्यही आधारमा संविधानको कानुनी तथा संरचनागत सुधार गर्दै जाने बताए ।

नेपालको राजनीतिमा धेरै दलहरूमा जनमत विभाजित हुँदा साना दलले ठुला दलहरूमाथि शासन गर्ने परिपाटी कायम हुँदै गएकाले  आगामी निर्वाचनबाट त्यसलाई अन्त्य गर्ने उद्देश्यका साथ संविधान, कानुन र संरचनागत सुधार गर्ने विषय आफूहरूले अघि बढाएको उनले बताए ।

महासचिव पोखरेलले जनताले पत्याएका तथा सबैभन्दा ठुलो जनमत प्राप्त दलहरूले लोकतन्त्रमा शासन गर्नुपर्ने बताउँदै तर साना दलहरूले म्याजिक अर्थात् जादुई  नम्बरको हवाला दिएर ठुला दलमाथि शासन गर्न खोज्नु त्यो लोकतन्त्रमा उचित नहुने बताए ।

उनले मुलुकमा शासन गर्न सानादलहरुले पनि जनताको जनमत प्राप्त गरेर  आफूलाई बलियो र ठुलो दल बनाउन सक्नुपर्ने जिकिर गरे ।

प्रतिक्रिया