Listen LIVE

१३२ केभीए प्रसारणको आयोजना सम्पन्न गर्न ९ महिना म्याद थप

नेपालगञ्ज : कोहलपुर–सुर्खेत एक सय ३२ केभिए विद्युत प्रसारण लाइन विस्तार कार्य सम्पन्न गर्न निर्माण कम्पनीसगँको सम्झौता म्याद थप गरिएको छ । तोकिएको अवधिमा काम सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको हो ।

लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको थियो । जनशक्ति र उपकरण पर्याप्त भएपनि आयोजना निर्माण क्षेत्रमा विवाद हुँदा काम भने गतिमा अगाडि बढ्न सकेको छैन । अहिले म्याद थप गरेर विवाद रहित स्थानमा काम भइरहेको आयोजना प्रमुख रवि चौधरीले बताए । उनका अनुसार आयोजनाको म्याद गत चैतमा नै सकिएको हो । २०८० चैतमा सकिएको आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको हो ।

६ हजार रुखमा टाँचा लगाइयो

विद्युत प्रसारण लाइन विस्तार गर्न प्रभावित क्षेत्रमा रुख कटानको प्रक्रिया अघि बढेको छ । राष्ट्रिय निकुञ्जमा पर्ने ६ हजार आठ सय रूखमा छपान गरिसकिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रूख विद्युत विस्तार क्षेत्रमा पर्ने भएकाले कटान हुने भएको छ । त्यसैका लागि छपान गरिएको र अब कटानको फाइल प्रमाणित भएर आउन साथ रूख काट्न सुरु गरिने प्रमुख चौधरीले बताए । उनका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति नआउँदा काम अघि बढाउन सकिएको छैन । २०७९ असार १५ गते बसेको मन्त्रीपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रूख कटान आदेश दिएको थियो । सोही आदेश अनुरूप रूखमा छपान कार्य सकिएको छ ।

अवरोध हटाउन पहल

लाइन विस्तारमा देखिएको विवादबारे कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विशेष चासो दिनुभएको छ । कँडेलले कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानको पहल गरेका हुन् । 

विभिन्न चरणमा विभिन्न पक्षसँग उनले छलफल समेत चलाएका छन् । केही दिनअघि मात्र आयोजना प्रतिनिधिहरूलाई मन्त्रालयमै बोलाएर छलफल गर्नुभएको हो । छलफलमा आयोजना प्रमुख रवि चौधरीले सुर्खेतको सुब्बाकुना, बाँकेको गाभर र निकुन्ज क्षेत्रभित्र भएका समस्याबारे मुख्यमन्त्री कँडेललाई जानकारी गराएका छन् । मुख्यमन्त्री कँडेलले प्रदेश सरकारको तर्फबाट सहयोग र थप पहल हुने जनाए । कर्णालीका लागि विद्युत विस्तार अपरिहार्य भएको भन्दै उले अवरोध हटाउनेतर्फ ध्यान दिन आयोजनालाई आग्रह गरेका छन् । 

जग्गा विवाद कायमै

सुर्खेतको वीरेन्द्रनगर–११ सुब्बाकुना र बाँकेको बैजनाथमा जग्गा विवाद कायमै रहेको छ । विवाद समाधानका लागि विभिन्न चरणमा सरोकारवालासँग छलफल गरिएको थियो । अहिलेसम्म विवाद समाधान हुन सकेको छैन । विद्युत लाइन विस्तार गर्दा वीरेन्द्रनगरको सुब्बाकुना र बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध सिर्जना गरेका छन् ।

७० प्रतिशत भौतिक प्रगति

हालसम्म विद्युत प्रसारण लाइन विस्तारको ७० प्रतिशत प्रगति हासिल भएको छ । एक सय पाँच वटा फाउन्डेसन निर्माण गरिएको छ भने दश वटा फाउन्डेसन बनिरहेका छन् । हालसम्म २५ किलोमिटर तार तान्ने काम सकिएको छ । सुर्खेतको सुब्बाकुनामा सव–स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया