दैलेख : समाजमा रहेको शोषण, दमन र अन्यायलाई सधैँका लागि अन्त्य गर्ने अठोट बोकेर युद्धमा होमिए, नौमुले गाउँपालिका–६ का धनबहादुर तारामीमगर । तत्कालीन नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर्णकालीन कार्यकर्ता हुँदै माओवादी लडाकु भएर तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कमान्डर प्रकाण्डलगायत नेताको सुरक्षाको जिम्मेवारी सम्हाले ।
सेना समायोजन गर्दा योग्य ठहरिएपछि मगरले नेपाली सेनामा समायोजन भई एक वर्ष जागिर गरे । नेपाली सेनाले सञ्चालन गर्ने तालिम गर्दागर्दै स्वास्थ्यमा समस्या देखिएपछि स्वैच्छिक अवकाश लिएर गाउँ फर्किने निर्णय गरे । स्वैच्छिक अवकाश आएपछि भारतका विभिन्न ठाउँमा रोजगारी गर्न पुगेका उनलाई भारतमा गर्ने दुःख आफ्नै देशमा गर्ने हुटहुटी चल्यो । कृषि पेसामै भविष्य देखेका उहाँले ‘तारामी आधुनिक नर्सरी कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरेर नौमुले गाउँपालिका–५ को साट्टारमा रहेको चार रोपनी खेतमा व्यावसायिक तरकारी खेती गरिरहेका छन् ।
“समाजका लागि के के न गरौँला भनेर युद्धमा होमिएँ, सेनामा समायोजन पनि भएँ तर शारीरिक अवस्थाले गाउँमै फर्कायो र कृषि खेती गर्न सिकायो,” तारामी भन्छन् । उनले भने, “चार रोपनीमा जग्गाभित्र लटरम्म फलेका बोडी, टमाटर, काउली बन्दा, करेला, लौकासहितका तरकारीले अहिले १० बर्षे जनयुद्धदेखि नेपाली सेनाको जागिरसमेतलाई बिर्साउँछ ।”
नौमुले बजारनजिक भएका कारण पनि बिहान र बेलुका तरकारी लिन व्यापारी घरमै पुग्ने भएपछि तौलेर दिन भ्याइनभ्याइ हुने गरेको तारामी बताउँछन् । पाँच वर्षअघि खेतीमा लागेयता आफ्नो मेहनत खेर गएको कहिल्यै महसुस गर्न नपरेको उनले बताए । उनी भन्छन, “यसपालि वैशाखयता मौसमी बेमौसमी तरकारी खेती बाटै राम्रो आम्दानी लिन सफल भएको छु ।”
आफ्नो खेती अर्गानिक पद्धतिको भएकाले उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको तारामीको भनाइ छ । तरकारीमा लाग्ने किराको नियन्त्रणका लागि आफैँ कीटनाशक औषधी बनाउँछन् । तरकारीमा लाग्ने किराको सङ्ख्या र क्षतिको आकलन गरेर आफैँले बनाएको जैविक औषधी प्रयोग गरी विषादीमुक्त तरकारी उत्पादन गर्छन् ।
अहिले जताततै खेतीपातीमा कडा विषादीको प्रयोग बढेसँगै कडा प्रकृतिका रोग बढेकाले सबैलाई प्राङ्गारिक खेतीमा आकर्षित गराउनुपर्ने तारामीको सुझाव छ । “गाउँघरमा विगतमा अमृत हुने वस्तु बजारबाट विषादी ल्याएर हाम्रै कारण विष बनाइएका छन्,” तारामीले भने, “अब विषादी नियन्त्रणका लागि सरकारले अभियान नै चलाउनु पर्छ ।”
तारामीको तरकारी खेती देखेपछि गाउँका अन्य युवा पनि तरकारीबाट राम्रो उत्पादन लिन थालेका छन् । “विषादी नछरी किरा नियन्त्रण र विषादीरहित तरकारी उत्पादनमा तारामीले अपनाएको तरिकाले हामीलाई लोभ्याएको छ,” नौमुले गाउँपालिका–४ का कृष्णबहादुर थापामगरले भने, “आफ्नै वरिपरि पाइने वनस्पति र गहुँतबाट किरा नियन्त्रण गरिँदा स्वास्थ्य सुरक्षा र कीटनाशक विषादीमा हुने खर्चबाट बचिएको छ ।”
मुलुककै समृद्धि र जनताको मुक्तिका लागि भन्दै विगतमा बन्दुक बोकेको कुरामा पश्चात्ताप नभए पनि समृद्धिको बाटो चाहिँ अहिलेकै उपयुक्त रहेको निष्कर्ष तारामीको छ । उनी अहिले गाउँछिमेक वरपर राम्रो उदाहरणका नमुना कृषक बनेका छन् । घरमा भेट्न आउने आफन्त हुन् कि अन्य छिमेकी उनीकै खेतीकै कुरा गर्छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार