नेपालगञ्ज : भारतीय सीमासँग जोडिएको बाँकेमा करिब १० हजार लागूऔषध प्रयोगकर्ता रहेको लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासङ्घले जनाएको छ ।
लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासङ्घका संयोजक रमेशकाजी महर्जनका अनुसार बाँके जिल्लामा लागूऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकरण कार्य चुनौतीपूर्ण बन्दै गएको बताए ।
उनले जिल्लामा हाल करिब १० हजार लागूऔषध प्रयोगकर्ता रहेको बताउँदै तीमध्ये एक हजार पाँच सय जति महिला प्रयोगकर्ता रहेको अनुमान गरिएको बताए । जिल्लामा लागूऔषध न्यूनीकरणका लागि २० वटा पुनःस्थापना केन्द्र स्थापना गरिएका छन् भने तीमध्ये दुई महिला पुनःस्थापना केन्द्र छन् ।
लागूऔषधविरुद्धका अभियन्ता अभिराज क्षेत्रीले पछिल्लोपटक लागूपदार्थ प्रयोगको स्वरुपसमेत परिवर्तन भएकोले अवस्था थप चुनौतीपूर्ण बन्दै गएको बताए । विगतमा धुवाँका रूपमा प्रयोग हुने ब्राउनसुगर अहिले तरल बनाएर सुईको माध्यमबाट प्रयोग हुने गरेको पाइएको उनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागूऔषध नियन्त्रणका लागि जिल्लामा विभिन्न अभियान सञ्चालन हुँदै आएको .छ । सो कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा जिल्ला प्रहरी कार्यालयमा लागूऔषधका १७७ मुद्दा दर्ता भएका थिए । लागूऔषधमा संलग्न २६४ लाई पक्राउ गरी ९२५ ग्राम ब्राउनसुगर नियन्त्रणमा लिइएको थियो ।
बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले लागूऔषध नियन्त्रणका लागि सीमापार भारतीय सुरक्षा निकायसँग समन्वय गर्नेदेखि गाउँ–गाउँमा चेतनामूलक कार्यक्रमलाई अघि बढाइएको बताए ।