काठमाण्डौ : एमाले महासचिव शंकर पोखरेलले अमेरिका र युक्रेनबीच ह्वाइट हाउसमा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको बताएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेनेस्कीबीच भएको नोकझोंकको सन्दर्भ उल्लेख गर्दै यस्तो बताएका हुन् ।
’हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नु पर्दछ । छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठूला र शक्तिशाली देशहरुले पनि दुःख पाउनु पर्दोरहेछ । छिमेककाविरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदो रहेछ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ’आज रुस र युक्रेन दुवैका लागि युद्ध घाँडो भएको छ । तर युद्ध अन्त्यका लागि उनीहरुले निकै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था देखिँदैछ ।’
शान्ति र स्थायित्वका लागि अब हरेक देशले सोच्नुपर्ने भन्दै उनले लेखेका छन्, ’शान्ति र स्थायित्वका लागि अब हरेक देशले सोच्नु पर्दछ, क्षेत्रीय शान्ति बिना विश्व शान्ति सम्भव हुँदैन । त्यसमाथि एसियाली देशहरुले आपसी सम्बन्धको विकासमा जोड दिने हो भने एसिया विश्वसभ्यताको केन्द्रका रुपमा पुनः स्थापित हुने अवस्था छ ।’
अमेरिकाको पछिल्लो रणनीतिले एसिया नै भूराजनीतिको द्वन्द्वको केन्द्र बन्न सक्ने संकेत गरेको उनले बताएका छन् । ’अमेरिकाको पछिल्लो रणनीतिले अबको एसिया नै भूराजनीतिको द्वन्द्वको केन्द्र बन्न सक्ने संकेत गर्दछ । गाजा क्षेत्र प्यालेस्टानीहरुबाट खोस्ने योजनाले त्यसकै संकेत गर्दछ,’ उनले लेखेका छन्, ’साथै रुस र युक्रेन बीचको युद्ध अन्त्यको नाममा भएको अमेरिकी प्रयास विश्व शान्तिको उद्देश्यसँग जोडिएको देखिएन ।’ त्यसको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय बन्न पुगेको उनले बताएका छन् ।
उनले लेखेका छन्, ’यस प्रकारको स्वार्थपरक नीतिले अन्ततः आर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भूराजनीतिक द्वन्द्वको विकास गर्नेछ । यस प्रकारको परिस्थितिबाट एसियाली राष्ट्रहरु विशेष ढंगले सचेत बन्नु आवश्यक छ ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार